- कृष्ण खरेल
‘‘कुटेर हुन्छ कि, मारेर हुन्छ कि हामीलाई परिवर्तन चाइयो’’ गत विधानसभा चुनाउको छेकमा सिक्किमभरि गुञ्जिएको यो वाक्यांश सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) -को ‘सिग्नेचर ट्युन’ नै बनेको थियो। विगत 25 वर्षमा सिक्किममा हलक्क बढ़ेको मध्यमवर्गलाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने अनेक उपायहरूमा एसकेएमले आविष्कार गरेका दुइवटा प्रमुख रणनीतिहरूमध्ये एउटा थियो यो – जनतामा त्रास सृष्टि गरेर भोट हत्याउने। हामीलाई थाहा छ – एसकेएमको अर्को रणनीति थियो – जनतामा अच्चाक्ली ठूलो महत्वाकांक्षा वा लोभ जन्माइदिने। यी दुवै रणनीतिले चुनाउमा असर देखायो। चुनाउपछि एसकेएमले जनतालाई देखाएको आशा-सपनालाई पूरा गर्ने काम उसले गर्नसकेन, किनभने यो सम्भव नै थिएन। भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको सम्पूर्ण वार्षिक बजट खन्याउँदा पनि एसकेएमका चुनावी घोषणाहरू एक छेऊ पनि पूरा हुन सम्भव थिएन। यसैले सरकार गठनपछि एसकेएमले पहिलो, अर्थात् जनतालाई त्रस्त बनाऊ अनि राज गर -को नीतिलाई प्रयोगमा ल्याउनेगरेको छ।
सरकार गठनपछिको पहिलो विधानसभा सत्रमा विपक्षी दलनेता पवन चामलिङले मुख्यमन्त्रीको नियुक्तिको वैधानिकतामाथि नै प्रश्न उठाउँदा एसकेएमका गोएबल्सहरूले सम्पूर्ण विधानसभाको मर्यादालाई उल्लङ्घन गर्दै सदनका वरिष्ठतम् सदस्यमाथि गालीगलौज गरे। उनीहरूको त्यो व्यवहार उनीहरूको रिस होइन, उनीहरूको डर थियो। तर्क नरहेपछि, उपयुक्त जवाफ दिने बाटो नरहेपछि मान्छे बहुलाउँछ र गति छोड़्छ। एसकेएम नाङ्गिएको डरले एसकेएमका गोएबल्सहरूले गति छाड़ेका हुन्। पछि मीडियाले त्यो सदनमै रहेका मुख्यमन्त्रीलाई त्यो गालीगलौजबारे प्रश्न गर्दा उनले कुनै तर्कपूर्ण जवाफ दिन नसकेर ‘‘त्यो मलाई थाहा भएन’’ भनेर पन्छिए। त्यो डर थियो।
पवन चामलिङले मुख्यमन्त्रीको असंवैधानिकतामाथि नै आधारभूत प्रश्न उठाएर उनीहरूको मतिभ्रष्टता, संवैधानिक अपराधलाई उदाङ्गो पारिदिए। त्यस्तो साहस एकजना सच्चा डेमोक्रेट नेताले मात्रै गर्नसक्छ।
उनीहरूभित्रको डरको दोस्रो प्रदर्शन पोकलोक-कामराङमा उप-चुनाउमा एसडीएफ उम्मेद्वारलाई प्रचार गर्नै नदिनु हो। उनीहरूले पवन चामलिङको चुनावी ऱ्यालीलाई दुइ-दुइपटक आक्रमण गरे, ज्यानै लिने किसिमको प्राणघातक आक्रमण गरे, एसडीएफ कार्यकर्ताहरूलाई गम्भीर शारीरिक चोट पुऱ्याए। त्यो रिस थिएन, त्यो डर थियो। उनीहरूमा एसडीएफको सामना गर्ने नैतिक साहस थिएन र छैन। यस 20 महीनाको अवधिमा एसडीएफ समर्थकहरूका कति घरहरू भत्काइए, गाड़ी जलाइए, मान्छेहरू कुटिए – त्यो बेहिसाब छ। सरकारका काम र क्रियाकलापहरूमाथि प्रेस कन्फरेन्सहरूमार्फत् प्रश्न उठाउने, गलत नीतिको पर्दाफास गर्ने एसडीएफ पार्टीका प्रखर प्रवक्ता जङ्गबीर दर्नालमाथि मध्यदिउँसो प्राणघातक हमला भयो। यो डरको उपज थियो। आज विद्यार्थीहरूले नारा-जुलूस गर्दा, विपक्षीहरूले सरकारको आलोचना गर्दा, सोशल मीडियामा सरकारविरुद्ध लेख्दा यो सरकार डराउँछ, पुलिस लगाएर खेदो गर्छ, पक्राउ गर्छ – यो पनि डर हो।
आज राज्यभरि अन्य पार्टीबाट एसकेएममा प्रवेश गराउने खेल चलिरहेको छ। जतिखेर सारा देश लकडाउनको कारण आर्थिक दुरवस्थाबाट गुज्रिरहेको थियो, जनतालाई तत्काल राहत र आर्थिक सम्बल चाहिएको थियो, एसकेएम पार्टी सोशल डिस्टेन्सिङ, मास्कजस्ता अपरिहार्य सुरक्षा उपायहरूको उपेक्षा गर्दै पार्टी विस्तार र सदस्यता अभियान चलाइरहेको थियो। आखिर यस्तो किन? यो उनीहरूभित्र लुकेको डरको परिणाम हो। कोरोना नियन्त्रण र जनताको आर्थिक पुनर्वासमा पूर्ण रूपमा असफल बनेपछि एसकेएम आफ्नो आलोचनाबाट बाँच्न सङ्गठन ठूलो बनाएर, बढ़ीभन्दा बढ़ी मानिसहरूलाई पार्टीमा हुलेर आफूभित्रको त्यो डरलाई छोप्नचाहन्छ। बील रोकिदिने, राहत रोकिदिने, ट्रान्सफर गराइदिने, भिजिलेन्स लगाइदिने अप्रत्यक्ष त्रास फिजाएर सत्तारूढ़ पार्टीमा मान्छे हुल्नु एसकेएमको आन्तरिक भयकै परिणाम हो।
हालै पश्चिम सिक्किमको एटा जनसभामा मुख्यमन्त्रीले विपक्षी नेता पवन चामलिङले आफ्नो सरकार लड़ाउने कोशिश गरिरहेको डर पोखे। वस्तुतः कुनै पनि सरकारप्रमुखले आफ्नो सरकार खतरामा रहेको, कसैले लड़ाउनखोजिरहेको कुरा सार्वजनिक रूपमा भन्दै भन्दैनन्। राजनीतिमा यसलाई कमजोर भावनाको उदाहरण मानिन्छ। ‘भिक्टिम कार्ड’ खेलेर खोक्रो सहानुभूति बटुल्ने यो उनको रूञ्चे प्रवृत्ति हो। 19 जना आफ्नो विधायक, 12 जना गठबन्धन दलका विधायक गरी 32 -मा 31 जना विधायक लिएर चलिरहेको सरकारका प्रमुखले एक्लो विधायक ‘पवन चामलिङले मेरो सरकार लड़ाउनखोज्दैछन्’ भनेर आर्त्तनाद गर्नु! योभन्दा कायर अभिव्यक्ति अरू के हुनसक्छ? यो आफ्नै दलमाथि, सहयोगीहरूप्रति विश्वास हुन नसकिरहेको डर हो। यो डरको मूलमा छ – मुख्यमन्त्रीको रूपमा उनको पहिलो नियुक्ति, जुन अझै माननीय अदालतमा विचाराधीन छ अनि उनीमाथि लागेको 6 वर्ष कुनै चुनाउ लड़्न नसक्ने प्रतिबन्धलाई चुनाउ आयोगले गरेको फुकुवा, जसलाई सर्वोच्च अदालतमा चुनौती दिइएको छ। भोलि कथंकदाचित् माननीय अदालतको फसेला उनको विपक्षमा आएको खण्डमा त्यहाँ सृष्टि हुने अनिश्चयताले उनी डराएका छन्। चुनाउअघि विभिन्न जात-जातिका नेताहरूलाई आफ्नो सरकारको भावी मुख्यमन्त्री भनेर घोषणा गर्ने उनी आफ्नो सरकारलाई सामान्य बहुमत हासिल हुनासाथ आफू अघि सरेर मुख्यमन्त्री बने, जसले गर्दा पार्टीभित्र हुर्किएको महत्वाकांक्षासित उनी आफै डराएका छन्। चुनाउअघि चामलिङ सरकारमाथि परिवारवादको आरोप लगाएर नथाक्ने पी.एस. गोले आफ्नो छोरालाई विधायक बनाएर आफै परिवारवादका उदाहरण बने। चामलिङले त 25 वर्ष आफू सरकारमा हुँदा परिवारका कुनै पनि सदस्यलाई राजनीतिमा ल्याएनन्। यो आत्मपराजय नै गोलेको डरको स्रोत हो, जसलाई उनी ढाँटेर, छलेर छोप्नचाहन्छन्। यसबाहेक जनतालाई देखाएको असम्भव सपना, नानाभाँति झुट बोलेर खड़ा गरेको झुटको साम्राज्य कमजोर धरातलमा उभिएको उनलाई महसुस छ, त्यसैले त्यो पोका खुल्ने डरले उनी डराएका छन्। उनी सरकारमा आएपछि सिक्किमलगायत सारा विश्वमा आएको कोरोना महामारीले उनको पनि योग्यताको परीक्षा गऱ्यो, जसमा उनी र उनको सरकार पूर्ण रूपमा असफल बन्यो। सम्पूर्ण कोरोनाकाल राजनैतिक इच्छाशक्ति र स्पष्ट दिशाको अभावमा अनि सम्पूर्ण रूपमा नोकरशाहहरूको तुघलकी निर्णयमा बितेकोले यो असफलताले यस सरकारलाई कमजोर सरकारको रूपमा प्रमाणित गरेको छ। जनतालाई देखाएका उड़न्ते सपनाहरू पूरा गर्न नसक्नु अनि विगत 20 महीनादेखि केवल पूर्व सरकारलाई गाली मात्र गरिरहनुले यो सरकारको साख गिरेको छ, यो त्यही डर हो।
डराएको शासक सबैभन्दा खतरनाक हुन्छ। डराएको शासकमा नैतिक र आत्मिक शक्ति हुँदैन, त्यसैले उसले डरलाई जित्न डरकै सहारा लिन्छ। विगत 20 महीनामा यो सरकारले आफ्नो असफलताबाट उब्जिएको डरलाई जित्न डरको सहारा लिएको छ। पूर्व मुख्यमन्त्रीलाई विधानसभामा लाञ्छित गर्नदेखि कोरोना प्रोटोकलको धज्जी उड़ाउँदै जनसभाहरू गरेर शक्ति वृद्धि गर्नुसम्म यस सरकारले राज्य आतङ्कको सहारा लिएको छ। अब त मुख्यमन्त्री खुलेआम विपक्षीहरूलाई चुनौती दिनथालेका छन्, आफूसित ‘टीम’ भएको बताउनथालेका छन्। आफूभित्रको डर, आफ्नो असफलतालाई अरूमा आरोपित गर्ने यो खतरनाक प्रवृत्तिले सिक्किममा शिर उठाउन शुरू गरेको छ। सिक्किममा संस्थागत भएको प्रजातन्त्रलाई मास्न यो प्रवृत्ति ठूलो चुनौती बनेको छ।
आफ्नो सिद्धान्तमा अडिग रहेकैले एक्लो विधायक बन्ने स्थितिमा पनि प्रजातन्त्र, न्याय, समानताको निम्ति सङ्घर्षशील रहेका पवन चामलिङसँग भयभीत गोलेले आफ्नो सरकार कथित रूपमा खतरामा रहेको, कसैले आफ्नो सरकार ढाल्न लागिरहेको ‘भिक्टिम कार्ड’ खेलेबाट बुझ्नसकिन्छ – यो सरकार अपराधबोधले ग्रस्त छ, आफ्नो अस्तित्वको लागि कतै पनि लम्पसार पर्नसक्छ, राज्य र जनताको हक-हितसँग सम्झौता गर्नसक्छ। अपराधबोधले ग्रस्त, भयग्रस्त सत्ता कालान्तरमा लाखौं जनताको निम्ति भयको कारण हुनसक्छ। इतिहासले देखाएको छ – शासकहरू जतिखेर सबैभन्दा कमजोर र भयग्रस्त हुन्छन्, त्यतिखेर उसले आफूलाई शक्तिशाली देखाउन जनतामा भय सञ्चार गर्छ। कवि गोरख पाण्डेको भाषामा भन्नपर्दा, उनीहरू (शासकहरू) यसकारण डराउँछन् कि एकदिन निहत्था र गरीब मानिसहरूले उनीहरूसँग डराउन छोड़िदिनेछन्।
यो समय सिक्किमेली जनताको लागि कठिन समय हो। डरविरुद्ध निडर सङ्घर्षको समय हो, भोलि अजङ्गको डर बनेर जनताअघि उभिनसक्ने तानाशाहीविरुद्ध आजै सचेत बन्ने र सङ्घर्षहरूलाई सङ्गठित गर्ने समय हो।