गान्तोक, ३१ जनवरी। पवन चामलिङको नेतृत्त्वकालमा रहेको विगत २५ वर्ष सिक्किमको स्वर्णिम युग थियो। समावेशी राजनीतिक सिद्धान्तको प्रतिफलले राज्यको सर्वाङ्गीण विकाससँगै भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र संवर्धन भइरह्यो। सिक्किमका सम्पू्र्ण नागरिकले सुरक्षित र सम्मानित जीवन निर्वाह गर्न सफल बने।
विगत २०१९ देखि परिवर्तनको लहरसँगै नेतृत्व बद्लिएदेखि यता सिक्किमलाई सञ्चो छैन। सिक्किमको परिवेश धमिलिएको छ। सिक्किमको नाम, सुवास र मर्यादा कलङ्कित बन्नथालेको छ। सिक्किमे जनताको अस्तित्व, गरिमा र भविष्यमा ग्रहण लाग्न थालेको छ ।
पश्चिम सिक्किमको भानु उद्यान केन्द्र एसडीएफ सरकारकालमा निर्मित एउटा ऐतिहासिक पूर्वाधार हो। यस पूर्वाधार निर्माण गरेर एसडीएफ सरकारले नेपाली भाषा-साहित्य विकासको निम्ति एक महान आधारभूमि खडा गरेको हो। तर आज नयाँ सरकारमा हाम्रा विभूतिहरूको सम्मानमा खड़ा गरिएका सालिगहरू, स्थापत्यहरू सुरक्षित छैनन्। पश्चिम सिक्किमको सोरेङस्थित भानु उद्यानमा अवस्थित आदि कवि भानुभक्तको मूर्ति गत ३१ जनवरी, २०२१ को दिन अज्ञात व्यक्तिहरूबाट तोड़फोड़ गरिएको र स्थानीयहरूले भग्न मूर्तिलाई पुन: जोड़ेर राखेको खबरले सिक्किमे समाजलाई चिन्तित तुल्याएको छ।
वर्तमान मुख्यमन्त्री गोलेको मगरजोङ भूमिपूजन कार्यक्रम सम्पन्न भएकै दिन आदि कवि भानुभक्तको आचार्यको मूर्ति तोड़फोड़ हुनु चिन्ताको विषय बनेको मानिसहरूले विचार व्यक्त गरेका छन् भने मूर्ति तोड़फोड़ गर्नेहरूलाई पुलिसले आजसम्म पक्राउ गर्नसकेको छैन। जनस्तरमा पुलिसको निष्क्रियता र सरकारको उदासीनताप्रति आक्रोश सल्किरहेको देखिन्छ।
यस प्रकारको कुकृत्यले सिक्किमेली समाजलाई ठूलो क्षति पुग्नगएको छ। राज्यमा असामाजिक तत्त्वहरूलाई हावी हुन नदिने ठूलो दायित्व नेतृत्व पंक्ति तथा राज्य सरकारको हो। तर विगत दुइ वर्षदेखि यता राज्यमा भइरहेको अनेकौं यस्ता घटनाहरूले वर्तमान सरकार सिक्किमलाई सम्पूर्ण रूपले सुरक्षित र मर्यादित राख्न विफल बनेको पुष्टि भएको छ।