कुनै पनि सरकार जनतालाई चुनाउमा गरेको वाचा र चुनाउ घोषणा-पत्रको आधारमा चलेको हुन्छ र चल्नु पनि पर्छ। तर `कतै नभएको जात्रा हाँड़ीगाउँमा’ भनेजस्तो संसारमा एसकेएम मात्रै यस्तो सरकार हो, जो विगत 3 वर्षदेखि पहिलेको सरकार अनि पूर्व मुख्यमन्त्री पवन चामलिङको खोइरो खन्नु, उनलाई गालीगलौज गर्नु, उनीमाथि ढुङ्गा-मूढ़ा गर्नुमा टिकेको छ। पार्टीको मिटिङ होस् वा राजनैतिक मिटिङ, सरकारी कार्यक्रम होस् वा विधानसभाको अधिवेशन, जतै पनि एसडीएफ र चामलिङको विरोध गर्नु यिनीहरूको पेशा नै भएको छ। के जनताले यिनीहरूलाई एसडीएफ र चामलिङको विरोध गर्नका लागि जिताएर पठाएका थिए त? होइन, यिनीहरूले एसडीएफ र नेता चामलिङको लगातार विरोध यसकारण गर्दैछन्, किनभने यिनीहरूले सत्तामा पुगेर एउटै काम पनि गरेका छैनन्। एसडीएफले गरिराखेको कामको फिता मात्रै काट्दैछन्, पहिल्यै उद्घाटन भइसकेका योजनाहरूलाई फेरि रङ्ग-रोगन गरेर उद्घाटन मात्रै गर्दैछन्। आफूले तीन वर्ष काम गर्नु नसकेको लाज, अपराधबोध र असफलतालाई उनीहरू चामलिङको विरोध र खेदो गरेर छोप्न, ढाक्न चाहन्छन्।
एसकेएम पार्टीका एकजना कुण्ठित, अल्पज्ञानी र लालबुझक्कड़ प्रवक्ता सीपी शर्माले सिक्किम विधानसभाका वरिष्ठतम् सदस्य एवं 25 वर्ष मुख्यमन्त्रीत्व गर्ने कीर्तिमान कायम गरेका नेता पवन चामलिङमाथि विधानसभाको नियमावली बुझाउन खोजेछन्। यो त सोझै `आमाको अघड़ि मावलीको बखान’ गरेजत्तिकै भयो। पार्टीको साहित्य विभाग हेर्ने मान्छेले राजनीति र विधानसभाको नियमावलीमाथि व्याख्या छाँट्ने दुस्साहस पनि गर्नु पनि एसकेएम पार्टीमै मात्र सुहाउँछ।
के अहिलेको दशौं सिक्किम विधानसभा मर्यादित, सम्मानित विधानसभा हो? एकजना अवैध मुख्यमन्त्री, विधानसभा नेता भएको व्यक्तिको नेतृत्वमा रहेको विधानसभा कसरी मर्यादापूर्ण हुनसक्छ? जुन मुख्यमन्त्रीको नियुक्तिमाथि दिल्ली हाईकोर्ट र सुप्रिम कोर्टमा मुद्दा चलिरहेको छ, त्यो मुख्यमन्त्रीले नैतिकताको, मर्यादाको पाठ पढ़ाउने? सीपी शर्माहरूलाई मर्यादा भनेको के हो भन्ने कुरा पनि थाहा छ? दशौं विधानसभाको पहिलो अधिवेशनको पहिलो दिन पवन चामलिङले वर्तमान मुख्यमन्त्रीको वैधानिकतामाथि जुन गम्भीर प्रश्न उठाएका थिए, त्यसको जवाफ आजसम्म विधानसभा अध्यक्षदेखि लिएर प्रवक्ताहरूले तीन वर्षमा पनि दिनसकेका छैनन्। सीपी शर्माले कुन मर्यादाको गफ गर्दैछन्? विधानसभाको दर्शकदीर्घा (ग्यालरी) –मा बसेर सदनका वरिष्ठतम् सम्मानित सदस्यलाई गालीगलौज गर्ने सड़कछाप लुम्पेनहरूले सदनको मर्यादा हनन् गर्दा सीपीहरूको मर्यादाबोध कहाँ भीख माग्न गएको थियो? ट्याबेहरूले विधानसभा भवनलाई ड्रग्सको खाल सम्झिँदा, सड़कछाप भाषा ओकल्दा एससकेएम सरकारको नैतिकता कहाँ घाँस चर्न गएको थियो? सिक्किम विधानसभा भवनको `सभ्यता’ लाञ्छित हुँदा, सदनको मर्यादा भङ्ग गरिँदा वरिष्ठतम् सदस्यमाथि अमर्यादित र असंसदीय भाषामा गालीगलौज हुँदा सीपी शर्माको तथाकथित मर्यादा कहाँ गएको थियो? अनि उनको नेताले आफ्नै आँखाअघाड़ि भएको प्रत्यक्ष घटनालाई देखेर पनि “त्यो मलाई थाहा भएन’’ भन्नु निर्लज्जताको पराकाष्ठा होइन? के सदनको, सदस्यको मर्यादा यसरी नै राखिन्छ?
पवन चामलिङप्रति पहिलो विधानसभा अधिवेशनमा जुन अपमान र अभद्रता प्रदर्शन गरियो, त्यसमाथि विधानसभा अध्यक्ष, जसले विधानसभाको सम्मान र गरिमालाई कायम राख्नुपर्छ, उनले कुनै कार्वाही गरेनन्। चामलिङको अपमान विधानसभाको पनि अपमान हो, अध्यक्षको पनि अपमान हो, सिक्किमे जनताको पनि अपमान हो। चामलिङले तत्काल सदन बहिष्कार गरेर आत्मसम्मानको रक्षा गरे, जनताको प्रतिनिधिको सम्मानको रक्षा गरे तर लुम्पेनहरूबाट विधानसभा अध्यक्षले आफ्नो र आफ्नो पदको, विधानसभाजस्तो पवित्र संस्थानको सम्मानको रक्षा गर्नसकेनन् र आज पनि विधानसभा सञ्चालन गरिरहेका छन्। विधानसभाको दोस्रो अधिवेशनमा पनि पवन चामलिङले एकमात्र विपक्षी सदस्य हुनुको नाताले अधिवेशनमा भाग लिएर जनताको पक्षमा आवाज उठाउँदा दर्जनजति विधायक र मन्त्रीहरू उठेर कोहोलो मच्चाएर बाधा दिए। उनीहरूको यस्तो असभ्य आचरणले सिक्किम विधानसभाको गरिमा र मर्यादा खण्डित भयो। यसबेला पनि विधानसभा अध्यक्षले कुनै हस्तक्षेप गरेनन्। त्यसपछि तीन वर्ष पवन चामलिङले सिक्किम विधानसभाको कुनै पनि अधिवेशनमा भाग लिएनन्। उनी सदनबाहिरै रहेर जनताको पक्षमा आवाज उठाइरहे, हरेक हप्ता जनस्तरबाट उठ्ने प्रश्नहरूलाई सामाजिक सञ्जालमार्फत् सम्बोधन गरिरहे, तर सत्ताको मातले झुलेको सरकारले जनताको आवाज सुनेन। पवन चामलिङले सदनको पहिलो बैठकमा उठाएको प्रश्न विधानसभा भवनभित्र विगत 2 वर्षदेखि गुञ्जिरहेको छ, त्यसको जवाफ आजसम्म कसैले दिनसकेको छैन। चामलिङको प्रश्नको जवाफ दिन नसकेपछि एसकेएमका प्रचारशङ्खहरू फ्याउराझैं विगत तीन वर्षदेखि चिच्याइरहेछन् – पवन चामलिङ किन विधानसभामा आउँदैनन्? पवन चामलिङ डरायो, आदि। तीन वर्षपछि चामलिङले पुनः सदनमा जाने अनि जनताका सवालहरू उठाउने निश्चय गरे। पवन चामलिङले सदनको बैठकमा भाग लिने निश्चय गरेपछि केही मानिसहरूले बालसुलभ प्रश्न गरे – एकजना विधायकले सदनमा जान्छु भन्नु कुनै समाचार हो? प्रश्न सही थियो तर घटनालाई सन्दर्भ र ऐतिहासिकतामा नबुझ्दा यस्तै केटाकेटीपूर्ण प्रश्न उब्जिन्छ। चामलिङले यसपालि विधानसभा अधिवेशनमा भाग लिन्छु भन्नु नै यो व्यवस्थामाथि कसिलो व्यङ्ग्य हो। कतिपय ट्रोलर्सहरूले यो व्यङ्ग्य नबुझे पनि सत्तापक्षको हंसले ठाउँ छोड़्यो। चारदिने अधिवेशनमा चामलिङले तीन दिन भाग लिए तर सत्तापक्षले उनको मनोबल तोड़्न विधानसभा भवन आउँदा-जाँदा ढुङ्गे युगका बाँदरहरूले झैं व्यापक मात्रामा ढुङ्गा-मूढ़ा गरे, एसडीएफका असङ्ख्य समर्थकहरूलाई गम्भीर घाइते बनाए। सदनमा चामलिङले पाएको समयमा बोल्नलाग्दा मुख्यमन्त्री, मन्त्री तथा विधायकहरूले कोहोलो मच्च्याएर बाधा दिए। मुख्यमन्त्रीले बजट अधिवेशनमा जनताको पक्षमा विचार गर्नको सट्टा पवन चामलिङको परिवारप्रति व्यक्तिगत र असंसदीय टिप्पणीहरू गरेर विधानसभाको सम्मानित सदनलाई पुनः अपमानित गरे। पवन चामलिङले बारम्बार मुख्यमन्त्रीको असंसदीय र अशोभनीय टिप्पणीहरूलाई सदनको रेकर्डबाट हटाउन अध्यक्षसँग माग गरिरहे तर हृदयशून्य अध्यक्ष मौन बसिरहे। पवन चामलिङ र उनको परिवारविरुद्ध अशोभनीय र असंसदीय टिप्पणीहरू रेकर्डबाट हटाइनुपर्थ्यो, तर हटाइएन। यो तर राम्रै भयो। सिक्किमका भावी पुस्ताहरूले एकदिन रेकर्ड खोतल्नेछन् र थाहा पाउनेछन् कि सिक्किममा एक समय यस्ता `असभ्य’ मानिसहरू पनि सत्तामा पुगेका रहेछन्।
`लाटो चम्कियो भने बाबुलाई जिस्काउँछ’ भनेजस्तै भूतपूर्व गुरुबाबुले पवन चामलिङलाई बजट प्रस्ताव नबुझेको भनेर जिस्काउन खोजेछन्। वित्तमन्त्रीले अनुनासिक स्वरमा बजटको पहिलो शब्द उच्चारण गर्नेबित्तिकै बजटको आत्मा बुझ्ने र पर्गेल्नसक्ने पवन चामलिङलाई बजट नबुझेको आरोप लाउने यी भूपू गुरुबाबुले पहिले बताऊन् – यो तीन वर्षमा चारवटा बजटले के नाप्यो? के खुत्यायो? एसडीएफले उँचाइमा पुऱ्याएको सिक्किमलाई यो तीन वर्षमा ओह्रालो लगायो त। के छ यो बजटमा? अनि विगत तीन वर्षको बजटमा? युवाहरूको लागि कुनै योजना छैन, गरीबी निवारणको कुनै एजेण्डा छैन, औद्योगिक विकासको कुनै रोडम्याप छैन, बेरोजगारी उन्मूलनको कुनै सपना छैन। यो तीन वर्षमा एसकेएम सरकारले गरेको काम भने सिक्किमको सबैजसो सिरिसम्पत्ति बाहिरको मान्छेलाई बेच्नु मात्रै रहेको छ। तिम्रो इकोनमिक रिभाइभलको हावामिठाई के भयो? 30 हजार बेरोजगारलाई 100 दिनभित्र रेगुलर नोकरी के भयो? बेरोजगारहरूलाई मासिक रु. 10 हजार भत्ता के भयो? कम्पनीका मजदूरहरूको न्युनतम् ज्याला रु. 20 हजार के भयो? घरआमाहरूलाई वार्षिक रु. 1 लाख सहयोग दिने कुरा-कन्था कता हरायो? अदुवा र अलैंचीको दरभाउ प्रति मन क्रमैले रु. 5 हजार र 50 हजार के भयो? कति जोत्छौ अझै? सदनमा उभिएर तिमीहरूको यही पाखण्डीपनको भेद खोल्छ भनेर पवन चामलिङमाथि ढुङ्गा-मूढ़ा गरेको होइन? विभानसभाभित्र फ्याउराझैं कराएर मुख थुन्नखोजेको होइन?
मुख्यमन्त्री पी.एस. गोलेले यसपालि विधानसभाभित्र पनि सीबीआई ल्याउने कुरा गरेछन्। सरकारले त्यसको लागि जाँच गर्दैछ अरे। जाँच सरकारले गर्छ कि सीबीआईले? सरकारले जाँच गर्दैछ भन्नुको तात्पर्य यो सरकार बद्लाको भावनाले, राजनीतिक रूपले प्रेरित भएर पवन चामलिङ र एसडीएफविरुद्ध लागिपरेको छ। मुख्यमन्त्रीले धेरैपटक सीबीआईको कुरा गरिसकेका छन्, केहीपटक अत्यन्त अशोभनीय शब्द प्रयोग गरेर। यो उनीहरूको निकृष्ट राजनीतिको परिचायक हो। यसबाट बुझिन्छ – उनीहरू सिक्किमे जनताका लागि काम गर्न आएका होइनन्। उनीहरू एसडीएफ पार्टीलाई, पवन चामलिङलाई हरेक दृष्टिले प्रताड़ित गरेर, मुद्दा लाएर, कुटेर, पिटेर, ढुङ्गा-मूढ़ा गरेर सिक्किमबाट मेटाउनचाहन्छन् र सिक्किममा सधैंभरि आतङ्क र लूटको राज चलाउनचाहन्छन्। कस्ता कस्ता तानाशाह र तानाशाही त ध्वस्त भए, प्रजातन्त्रमा तानाशाही चलाउँछु भन्ने भ्रम कसैले नपाल्दा हुन्छ।
पवन चामलिङलाई दिनरात खेदो गर्नु, मरौ-परौ र सामाजिक कार्यहरूमा जाँदा ढुङ्गा-मूढ़ा गर्नु, गालीगलौज गर्नु, बाटो थुन्नु एसकेएमको एकमात्र राजनैतिक एजेण्डा बनेको देखिन्छ। अर्को पार्टीलाई सिध्याउनु, अर्को नेतालाई घेराबन्दी गर्नु नकारात्मक राजनीति हो। यो प्रजातान्त्रिक परिपाटीको विरोधमा षड़्यन्त्र हो। एसकेएम पार्टीको स्थापना हुनु, फल्नु-फुल्नु एसडीएफ सरकारको उदार प्रजातान्त्रिक व्यवस्थाकै कारण सम्भव भएको हो। एसडीएफको 25 वर्षको शासनमा असङ्ख्य पार्टीहरू जन्मिए, एसडीएफले ती पार्टीहरूसित वैचारिक प्रतिस्पर्द्धा गऱ्यो, जनतासँग मुद्दाको आधारमा भोट मागेर सरकार चलायो। कुनै पार्टीलाई सत्तामा ल्याउनु-नल्याउनु जनताको इच्छाको कुरा हो। यो अधिकार जनतालाई दिइनुपर्दछ। तर आज एसकेएम पार्टीले विपक्षी पार्टी एसडीएफमाथि आक्रमण गरेर एकतन्त्री हुकुमे शासन चलाउनखोज्दैछ।
एसकेएम पार्टीले आज जसरी हिंसाको सहारा लिएर राजनीति गर्दैछ – यो सिक्किमको प्रजातन्त्रको लागि, सिक्किमको शान्ति र सुरक्षाको लागि गम्भीर चिन्ताको विषय हो। हिंसाले प्रतिकार निम्त्याउँछ। भोलि हिंसाले सिक्किमलाई पोल्यो भने देशको सीमाराज्य खतरामा पर्छ। हिंसाले आजसम्म कसैलाई राम्रो गरेको छैन। छिमेकी पश्चिम बङ्गालमा हिंसाको लामो इतिहास छ। एक समय मुख्यमन्त्री स्वयंले युवाहरूको हात हातमा पेस्तोल थमाएर विरोधीमाथि हिंसा गर्न उक्साउँथे भनेको सुन्थ्यौं यहाँ हामीले। आज त्यो पार्टी एउटै सीट जित्न नसक्ने अवस्थामा पुगेको छ भने बङ्गालमा हिंसाको अनन्त शृङ्खला आज पनि जारी छ। भर्खरै विधानसभाभित्र विधायकहरू कुटाकुटको स्थितिमा पुगेको कुरा कसैबाट लुकेको छैन। एक समय बङ्गाल देशको अग्रणी राज्य थियो, आज कति धेरै पछाड़ि परिसकेको छ, त्यो सबैले जान्दछन्। त्यो कुरा हामीले पनि बुझ्नु जरूरी छ। अरूको अनुभवबाट शिक्षा लिनु पनि ठूलो कुरा हो।
सीपी शर्माले पवन चामलिङमा अहङ्कार भरिएको देखेछन्। अज्ञानताले अनुभवलाई अहङ्कार नै देख्दछ। 37 वर्षदेखि विधायक अनि 25 वर्ष लगातार मुख्यमन्त्री हुनुका पछाड़ि कति बढ़ी अध्यावसाय, लगनशीलता, विनम्रता र समर्पण चाहिन्छ भन्ने कुरा झूटको खेती गरेर सत्तामा आउनेहरूलाई थाहा हुँदैन। त्यही झूटलाई सत्यताको छ्याङ्छ्याङे जालीदार बर्को ओढ़ाउनखोज्ने असफल कलमघिस्सुहरूले पवन चामलिङको वैचारिक उँचाइ, अनुभवसिद्धता र सिक्किम अनि सिक्किमेली जनताप्रतिको हिमालभन्दा अग्लो प्रतिबद्धतालाई अहङ्कार देख्नु उसको हीनताबोधको उपज मात्रै हो। उनीहरू अब झनझनै जनताको नजरमा लज्जित र नाङ्गोझार बन्ने दिन आउँदैछ। पुनश्च : आचार्य रजनीशले भनेका छन् – सभामा बस्न अयोग्यलाई नै `असभ्य’ भनिन्छ।