अहिले सिक्किममा सरकार, सत्तारुढ़ पार्टी, पुलिस प्रशासन र नागरिक प्रशासनबीच दमनकारी साँठगाँठ चरममा छ। यस्तो साँठगाँठबाट राज्यमा अनेकौं घटनाहरु घटाइएको छ। 30 अप्रेलको दिन पनि सोरेङमा एसकेएम पार्टी र सरकार, पुलिस प्रशासन र नागरिक प्रशासनले दमनकारी साँठगाँठ गरेरै एसडीएफ पार्टीका युवा नेताहरुमाथि भएको प्राणघातक आक्रमण गराएका हुन्। यो घटना एसकेएम पार्टी र सरकारले एसडीएफ युवा नेताहरुमाथि मात्र गरेको आक्रमण होइन, यो प्रजातन्त्रमाथिकै आक्रमण हो, सिक्किमको भविष्यमाथिकै आक्रमण हो। किनभने यस्तो साँठगाँठले सिक्किमलाई एउटा अँध्यारो र डरलाग्दो भविष्यतिर धकेलिरहेको छ।
सिक्किममा एसकेएम सरकार आएपछि पुलिस प्रशासन र नागरिक प्रशासन जति बद्नाम भएको छ, यसअघि कहिल्यै यस्तो भएको थिएन। किनभने यसले सत्तारुढ़ पार्टीसित साँठगाँठ गरेको छ। यसमा सम्पूर्ण पुलिस संस्थान र जिल्ला प्रशासनका सम्पूर्ण अधिकारीहरुलाई दोष दिनु पनि छैन। सरकारको हातमा बिक्ने, जात-पातलाई महत्व दिने र सत्तारुढ़ पार्टीको प्यारो बनेर व्यक्तिगत फाइदा लुट्न चाहने केही उच्च पदस्थ अधिकारीहरुको कारण आज सम्पूर्ण पुलिस संस्थान र नागरिक प्रशासन नै बद्नाम हुनुपरेको छ। निम्न तहका अधिकारी र जवानहरुले त आफ्ना उच्च अधिकारीहरुको आदेश पालन गर्नुपर्ने हुन्छ।
सोरेङमा एसडीएफ नेताहरुमाथि भएको आक्रमण जिल्ला पुलिस, जिल्ला प्रशासन र एसकेएम पार्टीद्वारा सुनियोजित रुपमा गरिएको आक्रमण हो। धेरैले यसलाई दुइ पार्टीबीचको झड़प भनेका छन्। मीडियाले पनि यस आक्रमणलाई ‘झड़प’ मात्र भनेर वास्तविकता कोट्याउने प्रयास गरेको देखिएन। हामीलाई के लागेको छ भने मीडियाले एसडीएफ र एसकेएमद्वारा दिइएको बयानलाई मात्र आफ्नो समाचारको आधार बनाएको छ। यो निकै ठूलो घटना हो। यसैले मीडिया घटनाको जरामा पुग्न जरुरी छ। तर आजसम्म कुनै पनि मीडिया न घटनास्थलमा पुगेको छ, न त्यहाँका तटस्थ प्रत्यक्षदर्शीहरुको विचार र टिप्पणी लिएको छ। आशा छ, सिक्किमको मीडियाले घटनाको वास्तविक कारण उजागर गरेर आफ्नो जिम्मेवारी पूरा गर्नेछ।
यस आक्रमणलाई लिएर 3 मईको दिन एसडीएफ पार्टीका युवा नेता सञ्चराज लिम्बूले पत्रकारहरुलाई सम्बोधन गरे। उनकै घरमा आयोजन गर्नलागिएको कार्यक्रम भएकाले उनले दिएको बयानलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ।
सञ्चराज लिम्बूले मीडियालाई बताए अनुसार –
– आफ्नो घरमा कार्यक्रम राख्नका लागि उनीहरुले 22 अप्रेलकै दिन जिल्ला प्रशासनलाई अनुमति मागेका थिए र जिल्ला प्रशासनले 25 अप्रेलको दिन अनुमति दियो।
– 28 अप्रेलको दिन एसकेएमले 29, 30 अप्रेल र 1 मईको दिन जनसम्पर्क अभियान गर्ने अनुमति माग्यो र जिल्ला प्रशासनले त्यही दिन तत्परताका साथ अनुमति दियो। (एसडीएफ -लाई अनुमति दिनको निम्ति प्रशासनले 4 दिन लगायो तर एसकेएमलाई अनुमति दिन एक दिन पनि पर्खेन)।
यसको अर्थ के हो भने एसडीएफ -ले मागेको अनुमतिबारे जिल्ला प्रशासनले एसकेएमलाई जानकारी दियो। त्यसैले एसकेएमले एसडीएफ नेताहरुमाथि आक्रमण गर्नसक्ने वातावरण बनाउन एसडीएफको कार्यक्रम हुने क्षेत्र र ठाउँमै जनसम्पर्क गर्ने अनुमति माग्यो।
जिल्ला प्रशासनले पनि आक्रमणको वातावरण र स्थिति बनाइदिनको निम्ति एसकेएमलाई कार्यक्रमको अनुमति दियो। सोरेङ जिल्ला प्रशासन अर्थात जिल्ला प्रशासनका प्रमुख जिम्मेवार जिल्लापाल र एसकेएमबीचको साँठगाँठको यो एउटा प्रमाण हो। होइन भने जिल्लापालले एसडीएफको सभा भएकै स्थानमा र त्यही दिन एसकेएमलाई कार्यक्रम गर्न दिन हुँदैनथियो।
सञ्चराज लिम्बूले मीडियालाई दिएको घटनाको विवरण अनुसार –
– उनले आफ्नो घरमाथिको फाटकमा एसकेएम समर्थकहरु थुप्रिन थालेपछि यसको जानकारी दिन जिल्लापाललाई फोन गरे तर जिल्लापालका दुइवटै फोन स्वीच अफ पाए।
– यसपछि उनले एसडीपीओ –लाई 6 पल्ट फोन गरे तर एसडीपीओ -ले फोन उठाएनन्। यसको अर्थ के हो भने एसडीएफको कार्यक्रममा आक्रमण गर्न दिनू भनेर एसकेएम हाईकमान्डबाट जिल्लापाल र एसडीपीओ –लाई आदेश भइसकेको थियो वा आफ्नो राजनैतिक स्वामीलाई खुशी पार्न उनीहरु स्वयंले एसआर लिम्बूको फोन नउठाएका हुन्। होइन भने सत्तारुढ़ पार्टी र प्रमुख विपक्षी दलको सभा एकै दिन एकै स्थानमा भइरहेको बेला उनीहरुले फोन नै स्वीच अफ गरेर बस्न, फोन नउठाइदिन वा कुनै पनि बहाना बनाउन पाउँदैनन्। राजनैतिक स्वामीभक्तिको यो भन्दा घिनलाग्दो घटना अरु हुनसक्दैन। यस्तो साँठगाँठले सिक्किमको राजनीति, समाज र भविष्यलाई नष्ट पार्ने निश्चित छ।