प्रेस विज्ञप्ति

राज्यमा तथाकथित परिवर्तनको आगमनसँगै राज्य र राज्यवासीले दिन प्रतिदिन सङ्‌कटकालीन्‌ अवस्था झेल्नु परिरेहको छ। आम जनतादेखि लिएर विद्यार्थी सम्मले आफ्ना मौलिक अधिकार उपभोग गर्न असमर्थ बनिरहेका छन्‌। योभन्दा ठूलो दुर्भाग्य अरू केही हुनसक्दैन। परिवर्तनको लहरसँगै सिक्किमेली जनताले नेतृत्व एसकेम पार्टीलाई सुम्पिएका हुन्। एसकेएम सरकारको अराजकतापूर्ण क्रियाकलापले एसकेम सरकारमा राज्यको प्रगति, समृद्धि, उन्नति र नागरिकहरूका हितका निम्ति काम गर्ने क्षमता नभएको पुष्टि भएको छ।

गेजिङ सरकारी कलेजका विद्यार्थीहरूलाई एसकेएम सरकारले अन्याय गरिरहेको छ। प्रजातन्त्रमा कुनै पनि विषयबारे जानकारी पाउनु, असन्तुष्टि व्यक्त गर्नु र शान्तिपूर्ण ढङ्‌गमा विरोध गर्नु मौलिक अधिकार हो। प्रजातन्त्रिक मान्यताकै आधारमा गेजिङ कलेजका विद्यार्थीहरूले पनि आफूले विद्या आर्जन गर्ने भवन निर्माणबारे जानकारी लिनचाहेका हुन्‌। मुख्यमन्त्री गोलेले कलेज भवन निर्माण तीन महिनाभित्रमा पूर्ण गर्ने लिखित आश्वासन दिएका थिए। ६ महिना बित्दासम्म पनि सो लिखित आश्वासन कार्यमा परिणत नहुँदा विद्यार्थीहरूले शान्तिपूर्वक जानकारी लिन मानव संसाधन विकास विभाग पुगेका हुन्‌। समस्या निदानका निम्ति शिक्षा मन्त्री कुङ्‌गा निमा लेप्चालाई भेट्नचाहेका हुन्‌। तर समस्या निदान त परै जाओस्‌, पुलिस प्रशासन लगाएर एसकेएम सरकारले आफ्ना अधिकार खोज्नपुगेका विद्यार्थीहरूलाई आधा रातमा पक्राउ गर्‍यो। उनीहरूलाई जुन कानुनी धाराको आधारमा पक्राउ गरियो, त्यो सरकारको अप्रजातान्त्रिक र घोर अधिनायकवादी कदम हो। यसको एसडीएफ पार्टी जोड़दार विरोध जनाउँदछ।

गाडीमा ढुङ्‌गा हान्ने, बाटो रोक्ने, जुलूस गर्ने, शान्ति श्रृङ्‌खला भङ्‌ग गर्ने, जनतालाई दुःख दिने आदि जस्ता असामाजिक काममा गेजिङ कलेजका विद्यार्थीहरू लागेका थिएनन्‌। उनीहरूले आफ्नो मौलिक अधिकार शान्तिपूर्क खोजेका थिए। एसकेएम सरकारले ती विद्यार्थीहरूलाई आतङ्‌कवादीलाई जस्तो बर्ताउ गर्नु र सौहार्द्रपूर्ण समाधानको उपाय खोज्नुको सट्टा रातारात पक्रिनुले एसकेएम सरकारको तानाशाही प्रवृत्ति उदाङ्‌गो बनेको छ।

एसकेएम पार्टीका प्रवक्ता जेकब खालिङले सङ्‌घर्षरत विद्यार्थीहरूलाई आतङ्‌कवादी संज्ञा दिएर घोर निन्दनीय टिप्पणी गरेका छन्‌। यसको एसडीएफ पार्टी कड़ा शब्दमा प्रतिकार गर्दछ। सङ्‌घर्षरत विद्यार्थीहरूलाई आतङ्‌कवादीको संज्ञा दिएर एसकेएम प्रवक्ताले गेजिङ कलेजजस्तो उच्च शैक्षिक संस्थानका समग्र आदरणीय प्राध्यापकगणसमेतलाई अपमान गरेका छन्‌। ज्ञानको प्रकाशद्वारा विद्यार्थीहरूलाई असल मार्ग देखाउन समर्पित आदरणीय प्राध्यापकहरूले दिएका शिक्षामाथि पनि प्रवक्ता खालिङको निन्दनीय टिप्पणीले प्रश्नचिन्ह खड़ा गरेको छ। एसडीएफ पार्टी एसकेएमका प्रवक्ताहरूलाई कुनै पनि टिका-टिप्पणी गर्नअघि सोच र विचारपूर्वक ज्ञानलाई आधार गरेर मात्र बोल्ने सुझाउ दिदछ।

पक्राउ परेका विद्यार्थीलाई बिनाशर्त रिहा गरिनुपर्छ। सरकारले विद्यार्थीमाथि गरेको अपमानजनक व्यवहार र दमनको निम्ति माफी माग्नुपर्छ भनी एसडीएफ पार्टी सरकारलाई माग पनि गर्दछ।

जुनै पनि सरकारले जनहितमा नै काम गरेका हुन्छन्‌। त्यही जनहितको आधारमा जनताले आफ्नो अभिमत दिएर सरकार बनाउँछन्‌। एसडीएफ पार्टीले पनि पाँचौँ कार्यकाल जनताको अभिमत प्राप्त गरेर सरकार चलाएको हो। यो कुनै आशीर्वाद र चमत्कारले भएको होइन। जनताको मन जितेर नै रेकर्डतोड़ सरकार बनाउन एसडीएफ सफल भएको हो। अहिले जनताले एसकेएमलाई भरोसा गरेर सत्तामा पुर्‍याएका छन्‌ भने एसकेएम पार्टीले आफ्ना चुनावी घोषणा पत्रअनुसार जनताका हितार्थ काम गर्नु परम कर्तव्य हो। आलोचना र पुरानो सिनो कोट्टाएर आफ्ना विफलता र असक्षमतालाई ढाक-छोप गर्न जनतालाई दमन र त्रासदीपूर्ण वातावरण सृर्जना गर्नाले सरकारको कर्तव्य पुरा हुँदैन।

मुख्यमन्त्री आफैले ‘खेलाची नसम्झिनु, टिम तयार छ’ जस्ता गैर कानुनी वक्तव्य दिएर समाजलाई अशान्तितिर डोहोराउने काम गर्दैछन्‌। सिक्किमजस्तो ल्याण्ड लक, चारैतिर अन्तरार्ष्ट्रिय सिमानाले घेरिएको संवेदनशील राज्यमा जनतालाई उकास्ने, भडकाउने, तर्साउने र गैर कानुनी क्रियाकलापमा प्रोत्साहन गराउने यस प्रकारको वक्तव्यमाथि प्रशासन, नागरिक समाज तथा राज्यका विज्ञजनले ख्याल राख्नु पर्छ। भोलि यस्ता वक्तव्यबाट प्रभावित भएर समाजद्रोही, देशद्रोही तथा अराजक तत्त्व सिक्किममा हावी भएर अशान्ति छाएमा यसको जिम्मेवार कसले लिने यो गम्भीर चिन्ताको विषय छ।

सिक्किम आज सरकारविहिन रहेको अनाथ अवस्थामा छ। एसकेएम सरकार आफैसँग विश्वस्त छैन। यसैले मुख्यमन्त्री आफैले टिमको आवश्यकता महसुस गरिरहेका छन्‌। यस अवस्थामा विद्यार्थी नानीहरूमाथि अन्यायपूर्ण ढङ्‌गले आधा रातमा डकैतलाई पक्रेजस्तो पक्राउ गर्नु निन्दनीय मात्र होइन यो सरकारको लज्जाजनक कदम हो। गेजिङ कलेजका विद्यार्थीहरूले अति शीघ्र न्याय पाउनुपर्छ तथा पक्राउ परेका विद्याथीहरूलाई बिनाशर्त रिहा गर्नुपर्छ भनी एसडीएफ पार्टी माग राख्दछ। विद्यार्थीहरूको हक र न्यायको पक्षमा एसडीएफ पार्टी पूर्ण समर्थन पनि जनाउँदछ।

कृष्ण खरेल
महासचिव, प्रचार-प्रसार मामिला
एसडीएफ।