सरकार अपराधी पक्रन असफल – एसडीएफ

गान्तोक। नाम्चीमा हालै भएको घटना, जसमा मानिसहरूको एउटा समूहले श्री भाइचुङ भोटियाको विरुद्धमा नाराबाजी अनि उनको पुत्ला जलाउने जुन काम गरे, उक्त घटना एकदमै अप्रजातान्त्रिक अनि रचनात्मक राजनीतिको संस्कृति र परम्पराको विरुद्धमा छ।

एसडीएफ पार्टीका प्रचार महासचिव कृष्ण खरेलले बिहीबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा भनेका छन्।

विज्ञप्तिमा भनिएको छ, श्री भाइचुङ भोटियाले नाम्ची, दक्षिण सिक्किममा सरकारद्वारा बनाइनलागेको सरकारी अस्पताल सम्बन्धमा आफ्ना विचारहरू व्यक्त गरेका अनि केही सुझाउहरू दिएका थिए। सरकारका केही नीतिहरू सम्बन्धमा आफ्नो विचार र अभिमत व्यक्त गर्नपाउनु भारतको संविधानले ग्यारेण्टी गरेको अभिव्यक्तिको स्वतन्त्रताअन्तर्गत मौलिक अधिकार हो।

खरेलले अझ भनेका छन्, श्री भाइचुङ भोटिया सिक्किमे भूमिपुत्र अनि राज्यका एक निधि हुन्। खेलकुदको क्षेत्रमा उनले गरेका असाधारण प्रदर्शनका कारण उनलाई सम्मानित राष्ट्रिय पुरस्कारहरू, जस्तैः- पद्मश्री अनि अर्जुन अवार्ड प्राप्त छ। उनले फूटबल खेलको क्षेत्रमा केवल राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत सिक्किमको छवि बनाएका छन्। उनको प्रतिभा अनि योगदानको उच्च मूल्याङ्कन गर्दै तत्कालीन एसडीएफ सरकारले सिक्किम सेवा रत्न पुरस्कार (सर्वोच्च सिभिल अवार्ड) अनि सिक्किम स्टेट स्पोर्ट्स अवार्डले सुशोभित गरेको थियो। नाम्चीमा निर्माणाधीन स्टेडियमलाई पनि भाइचुङ भोटिया स्टेडियम नामकरण गरिएको छ। भाइचुङ भोटिया सिक्किमका गौरव अनि एकजना राष्ट्रिय आइकन हुन्।

जहाँसम्म नाम्चीमा प्रस्तावित सरकारी अस्पतालको प्रश्न छ, त्यसलाई पूर्व एसडीएफ सरकारले सन् 2018 –मा स्वीकृत र अनुमोदित गरेको थियो अनि कार्यान्वयनका लागि टेण्डर गरेको थियो। यद्यपि वर्तमान सरकारले पछि उक्त टेण्डरलाई रद्द गरेको थियो। पहिलाको सरकारमा निर्माण लागत रु. 375 करोड़ अनुमोदन गरिएको थियो, हाल प्रोजेक्टको लागत बढ़ाएर रु. 585 करोड़ बनाइएको छ। यो गम्भीर सरोकारको विषय हो कि सरकारले यति ठूलो लागत वृद्धि लिएर योजनालाई अघि बढ़ाउन खोजिरहेको छ। थपमा, पूर्व एसडीएफ सरकारद्वारा तयार पारिएको प्रस्तावअनुसार अस्पताललाई प्रशासनिक खण्डमा अनि टीबी वार्डलाई वर्तमान नाम्ची जिल्ला अस्पतालको परिसरमा बनाइने भएको थियो। यो वास्तवमा रोगी अनि उनीहरूलाई रेखदेख गर्नेहरूका लागि धेरै सुविधाजनक हुनेथियो। सरकारले नयाँ अस्पताल बनाउनलागिरहेको वर्तमान खेल मैदानमा पहिला पशुपालन विभागको जिल्ला कार्यालय रहेको चियो, जसलाई नाम्ची एवं छेउछाउका जनताको निरन्तरको मागको फलस्वरूप खेल मैदानमा परिणत गरिएको थियो भनी विज्ञप्तिमा जनाइएको छ।

खरेलले अझ भनेका छन्, लकडाउन प्रोटोकल अनि सरकारद्वारा जारी निर्देशहरू रहँदारहँदै केही यस्ता मानिसहरूलाई बजारमा मध्य दिउँसो खुल्ला आउनदिइनु अनि यस्तो गैरकानुनी काम गर्नदिइनु आश्चर्यको कुरा भएको छ। सरकार यस विषयमा पूर्ण रूपमा मौन रहनु दुर्भाग्यपूर्ण कुरा हो अनि सरकार अपराधीहरूलाई कानूनअनुसार दण्डित गर्न पूर्ण रूपमा असफल भएको छ।

विज्ञप्तिमा जनाइएको छ, एसडीएफ पार्टी केही व्यक्तिहरूद्वारा गरिएको गैरकानुनी कार्यकलापको कठोर शब्दमा भर्त्सना जनाउँदछ तथा यी अपराधीहरूलाई कानूनको अधीनमा ल्याएर कार्वाही गर्ने माग गर्दछ।