सरकारको लापरवाही र गैर-जिम्मावारीपनकै कारण सिक्किममा महामारी गम्भीर सङ्कट बन्यो : एसडीएफ

गान्तोक। लगभग छ: लाख जनसङ्‌ख्या भएको हाम्रो राज्यमा कोरोना सङ्‌क्रमणको कारण २७५ जना भन्दा अधिक नागरिकहरूले ज्यान गुमाइसकेका छन्‌। यो अत्यन्त पीड़ादायक अवस्था हो। सिक्किमले सामना गर्दै आइरहेको सङ्‌कटपूर्ण परिस्थितिमा यति धेरैजनाले ज्यान गुमाउनुपरेको अहिलेसम्मको यो इतिहासकै कालो अध्याय बनेको छ। राज्यका नागरिकहरूले यस्तो सङ्‌कट परिस्थितिलाई झेल्न बाध्य वर्तमान सरकारकै लापरवाही र गैरजिम्मेवारीपनले बनाएको हो भनी एसडीएफ पार्टी ठहर गर्दछ।

एसडीएफ पार्टीका प्रचार-प्रसार महासचिव कृष्ण खरेलले बुधबार 9 जूनको दिन एउटा प्रेस विवृत्ति जारी गर्दै उक्त आरोप लगाएका हुन्। विवृत्तिमा अझ भनिएको छ, कोरोना सङ्‌क्रमणबाट हाम्रो सानो राज्यलाई सुरक्षित राख्न राज्य सरकार शुरुदेखि नै गम्भीर बनेन। राज्यहरूलाई कोरोना सङ्‌क्रमणले चापिरहेको बेला एसकेएम सरकार दाण्डी मार्च, माछा मेला, साइकिल र्‍याली, होली उत्सव, बैसाखी पर्व, पार्टीको जोइनिङ सभा आदि कार्यक्रमसँगै राजनीतिक रोटी सेक्दै सत्ता बचाउने दौड़मा निमग्न रह्यो। त्यसैको परिणाम हो अहिलेको अनियन्त्रित कोरोना सङ्‌क्रमण र राज्यका नागरिकहरूको सन्त्रासपूर्ण जीवन।

अहिले घड़ी पनि राज्य सरकार लकडाउनलाई कायम राखेर कोरोना सङ्‌क्रमण नियन्त्रणमा ठूलो जिम्मेवारी पूरा गरेको भ्रममा छन्‌। लगभग एक महिना बितिसक्दा पनि लकडाउनले कोरोना सङ्‌क्रमण नियन्त्रणमा कुनै आशाजनक परिणाम देखाएको छैन। मृत्युदर पनि प्रतिदिन बढ्दो स्थितिमा छ। यस्तो गम्भीर विषयलाई पर्वाह नगरी एसकेएम पार्टी र समर्थकहरू राजनीतिक रोटी सेक्न र सस्तो प्रचारबाजी गर्न व्यस्त छन्‌। यतिमात्र नभएर यस्तो महामारीको समयमा पनि २५ वर्षीय एसडीएफ कार्यकालमा केही भएन र केही गरेन भन्ने आलोचना गर्न आतुर छन्‌। पूर्व मुख्यमन्त्री श्री पवन चामलिङमाथि नकारात्मक बयान जारी गर्नु एसकेएम पार्टीका एक नम्बर नेतादेखि अन्य कार्यकर्ताहरूको ठूलो खेती नै भएको छ। यो अत्यन्त हास्यास्पद विषय हो। 

एउटा तथ्याङ्‌कअनुसार प्रति एकलाख जनतामा २९४ जना बिरामीलाई अस्पतालमा राख्ने क्षमता भएको राज्यहरूमा सिक्किम देशमै तेस्रो स्थानमा पर्दछ। यो एसडीएफ सरकारले स्वास्थ्य क्षेत्रमा निर्माण गरेका पूर्वाधारहरूको परिणाम हो। एसडीएफ सरकारले केही गरेन भन्ने एसकेएम पार्टीको बयानलाई प्रतिवाद जनाउँदौ कोभिड-१९ रोगीहरूलाई राख्नको निम्ति व्यवस्थापन गरिएको सोचेग्याङ अस्पताल, पाल्जर स्टाडियमको इण्डोर हल आदि पूर्वाधारहरू एसडीएफ सरकारकालकै देन हो। एसडीएफ कार्यकालमा के कति काम भएको थियो, त्यसको लेखाजोखा सिक्किमे जनताले गर्नाकै कारण २५ वर्षको लामो अवधिसम्म श्री पवन चामलिङलाई सिक्किमे जनताले नेतृत्व प्रदान गरे। यो सिक्किमको राजनीतिक इतिहासको एउटा अमेट विषय हो। 

एसकेएम पार्टीलाई हामी सगौरव अवगत गराउनचाहन्छौं – यस महमारीमा एसडीएफ पार्टीका नेता र एसडीएफ सहयोद्धाहरू आम जनतामा सेवा पुर्‍याउने पक्षमा तल्लीन छौं। हामी मानवताको पक्षमा उत्रिँदा क्यामेरा, सोशल मीडिया र प्रचार-प्रसारलाई बैसाखी बनाउने पक्षमा छैनौं। आम नागरिकको सेवा र मानवताको पक्षमा खरो उत्रिन एसडीएफ पार्टी स्थापनाकालदेखिको तत्पर रहँदै आएको छ। भविष्यपर्यन्त आफ्नो लक्ष्यमा कायम रहनेछ।

एसकेएम पार्टी र सरकारले पूर्व सरकारलाई आलोचना गर्नुभन्दा पहिले राज्यको वर्तमान परिस्थितिमाथि ध्यान केन्द्रित गर्ने हामी सुझाउ दिँदछौं। लकडाउनमा पनि अनेकौं ड्रग्सखोरहरूलाई पुलिस-प्रशासनले पक्राउ गरेको खबर सनसनी बन्यो। यो चिन्ता र सरोकारको विषय हो। लकडाउनको समयमा साधारण जनताका सबै गाड़ी-घोड़ा बन्द रहेको हुन्छ, तर यही लकडाउनकै समयमा भारी मात्रामा सवारी साधनहरूमा ड्रग्स पक्रा पर्नु शङ्‌कास्पद छ, जबकि लकडाउको समयमा गाड़ीहरूले चल्ने पास सबैले पाउँदैनन्‌। पास पाउनेहरू कि त सरकारका मान्छे हुन्छन्‌ कि त सत्तारूढ़ दलसँग सम्बद्ध व्यक्तिहरू हुने हुन्छन्‌। जब सरकारले जाँचबुझ गरेर पास दिएका गाडीहरूबाट यसरी ड्रग बरामद हुनु भनेको आज राज्य सरकार र जिम्मेवारी निकायमाथि तर्कयुक्त प्रश्न तेर्सिएको छ। अर्कोतिर, राज्यमा लकडाउन चलिरहेको समयमा साधारण जनताले अनेकौं कष्ट खपेर सरकारको निर्देशन पालन गरिरहेका छन्‌। तर एसकेएम पार्टीका कोषाध्यक्ष केशु अग्रवाल हालैमा सिलगढ़ीको एक होटलमा जुवा खेली कोभिड प्रोटोकल तोड़ेको आरोपमा पक्राउ परेको खबरले अर्को प्रश्न खड़ा गरेको छ। लकडाउनको समयमा केशु अग्रवाललाई कसरी सिलगढी जाने पास मिल्यो? एसकेएम सरकारले यसको जवाफ सिक्किमे जनतालाई दिनुपर्छ। कोभिड प्रोटोकललाई उलङ्‌घन गर्नका साथै जुवा खेलमा सङ्‌लग्न बन्दा पक्राउ परेका एसकेएमका कोषाध्यक्ष केशु अग्रवालको गैर कानुनी कार्यमा एसकेम पार्टी अहिलेसम्म किन चुइक्क बोल्दैन? सिक्किमे जनतालाई सत्य कुरा राख्न किन आँट गर्दैन? कोभिड प्रोटोकललाई उलङ्‌घन गर्ने, जुवातासमा सङ्‌लग्न बन्ने एसकेएम कोषाध्यक्षको गैरकानुनी र समाजविरोधी क्रियाकलापको एसडीएफ पार्टी घोर भर्त्सना जनाउँदछ। यसका साथै एसकेएम पार्टी खाली विपक्षमाथि अनर्गल र बेतुका बयानबाजी गरेर समय नष्ट गर्ने मानसिक रोगले ग्रसित छ भन्दै वर्तमान सरकार र एसकेएम पार्टीको यस्तो व्यवहार अनि क्रियाकलाप सिक्किम र सिक्किमे विरोधी रहेको ठहर गर्दै घोर निन्दा प्रकट गर्दछौं। जनाधराले दिलाएको दायित्व गम्भीर र इमान्दारितापूर्वक निर्वाह गर्ने सुझाउ पनि सत्तारूढ़ दललाई एसडीएफ पार्टी दिँदछ।