साप्ताहिक प्रश्नोत्तरमा एसडीएफ अध्यक्ष पवन चामलिङलाई मुख्यमन्त्री पी.एस. तामाङले अम्बेडकर जयन्तीको अवसरमा सरकारी कर्मचारीहरूको सम्बन्धमा दिनुभएको वक्तव्यलाई लिएर आइरहेका मिश्रित प्रतिक्रियाहरू सन्दर्भमा मुख्यमन्त्री यस सम्बोधनलाई तपाईंले कसरी लिनुभएको छ भनी प्रश्न सोधिएको छ। यस प्रश्नको उत्तरमा पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले भन्नुभएको छ – प्रथमतः अम्बेडकर जयन्ती हाम्रो राष्ट्रिय पर्व हो, जहाँ हामी देशको संवैधानिक गौरवको परम्परालाई अनुपालन गर्दछौं। तर यसपटकको अम्बेडकर जयन्तीमा जुन घटना घट्यो, त्यसले जनताका जीवनलाई सुरक्षा गर्ने देशको संविधानकै धज्जी उड़ायो। यस पावन र आनन्दको घड़ीमा सिक्किमे जनताले सरकार प्रमुखबाटै धम्की र चेताउनी पाए। एक सिक्किमे नागरिकको रूपमा मैले आज आफैलाई लज्जित महसुस गरेको छु। यसले हाम्रो देश, जनता र स्वयं डा. भीमराव अम्बेडकरप्रति पनि अनादर भएको मैले बुझेको छु।
उत्तर दिने क्रममा मुख्यमन्त्रीको पद संवैधानिक पद भएकोले त्यस चौकीमा बस्ने जो कोही पनि व्यक्ति तुच्छ र संकीर्ण विचार, सोच र व्यवहारबाट माथि उठेको हुनुपर्ने विषयमाथि जोड़ दिनुहुँदै जब मुख्यमन्त्री स्वयंले नियम-कानूनलाई समेत तोड़ेर आफूले थुप्रै अफिसर वा कर्मचारीहरूको पदोन्नति गरिदिएको घोषणा गर्छन्, हामी आश्चर्यचकित नभई कसरी रहनसक्छौं? सरकार प्रमुख आफैले सार्वजनिक रूपमा दिएको यस किसिमको वक्तव्यको अर्थ र महत्व के हुन्छ? हामीले यसबाट के कुरा बुझ्ने? भनी पूर्व मुख्यमन्त्री श्री चामलिङले उल्टै प्रश्न गर्नुभएको छ।
यसरी नै उत्तर दिने क्रममा मुख्यमन्त्रीको भनाइको सोझो अर्थ हो –
देशका कानूनदेखि माथि छन्। उऩी सगर्व घोषणा गर्दैछन् कि उनले देशको नियम-कानून, संविधानलाई आफै तोड़्दैछन्। राज्य सञ्चालनको यो स्थितिलाई भद्रगोल गाईजात्राभन्दा अरू के केही मान्नसकिँदैन भन्नुहुँदै पूर्व मुख्यमन्त्री श्री चामलिङले यो हालतलाई हेर्ने, देख्ने, सुन्ने बाहिरी दुनियाँका मानिसहरूले सिक्किम वा सिक्किम सरकारबारे के सोच्दैहोलान् वा के सोचेहोलान्? सभ्य र प्रजातान्त्रिक रूपले सचेत समाजमा त मुख्यमन्त्री वा जन-प्रतिनिधि आफैले नियम-कानून तोड़ेको स्वीकारेपछि उसले तत्कालै आफ्नो पदबाट राजिनामा दिनुपर्ने हुन्छ। यसले बताउँछ कि एसकेएम पार्टीभित्र सरकार चलाउनसक्ने सक्षम नेत्तृत्वको अभाव छ। उनीहरूले चुनेको र मानेको सर्वोच्च नेत्तृत्वको नै यस्तो हालत छ, चामलिङले भन्नुभएको छ। यसरी नै श्री चामलिङले सिक्किमे प्रशासनको सर्वोच्च पदबाट भइरहेको यस किसिमको लज्जाजनक चटक र आतङ्कको अवस्थाले सिक्किमलाई कहाँ पुऱ्याउला भनी अर्को प्रश्न पनि गर्नुभएको छ।
यसरी नै कर्मचारीबारे सम्बोधन दिने क्रममा मुख्यमन्त्रीले अझ अगाड़ि बढ़ेर जनताले अनुमान गरेभन्दा र सोचेभन्दा “अरू पनि कुराहरू॑ गर्ने” आफ्नो ल्याकत र क्षमता भएको कुरो समेत घोषणा गरेका तथा कर्मचारीहरूलाई कसरी ठीक पार्नुपर्छ, त्यो म जान्दछु साथै “म भिजिलेन्स लगाउनसक्छु, इन्क्वायरी बसाउनसक्छु, कम्पल्सरी रिटायरमेण्ट दिनसक्छु,… म को हो भनेर चिनाउँछु, पी.एस. गोले को हो भनेर चिनाउँछु। म पढ़ेको मान्छे, म कलम चलाउनजान्दछु, र अरू कुरो चलाउन पनि जान्दछु। अरू कुराहरू पनि मैले चलाकै हो..” इत्यादिजस्ता मुख्यमन्त्रीले सगर्व दिएका वक्तव्यलाई एउटा निर्वाचित सरकारको मुख्यमन्त्रीले बोलेका कुरा हुन् भन्नु कि कुनै तानाशाहले आफ्नो राजगद्दीबाट रैतीहरूलाई दिएको धम्की हो भनेर मान्नु भनी उहाँले प्रश्न गश्न गर्नुभएको छ।
यसरी नै पूर्व मुख्यमन्त्री श्री चामलिङले भन्नुभएको छ – म मान्दछु कि मुख्यमन्त्रीका रूपमा सबै सरकारी कर्मचारीहरूबाट उत्तरदायित्वको माग वा अपेक्षा गर्नु तथा जनताका काम गराउनु मुख्यमन्त्रीको जिम्मेवारी हो। म यो पनि मान्छु कि सिक्किमे जनताको सेवा गर्नु सरकारी कर्मचारीहरूको पहिलो जिम्मेवारी हो। यथासमयमा अफिस पुग्नु, कर्त्तव्यनिष्ठ भएर काम गर्नु, आफ्नो कर्त्तव्यप्रति निष्ठावान् हुनु र कड़ा परिश्रम गर्नु सरकारी कर्मचारीसँग हुनैपर्ने जरूरी गुणहरू हुन्। तर उनीहरूलाई “भिजिलेन्स लगाउँछु”, “इन्क्वायरी गराउँछु”, “कम्पल्सरी रिटायरमेण्टमा पठाउँछु”, “पेन चलाउँछु, नभए अरू पनि चलाउँछु” भनेर धम्की दिनु मुख्यमन्त्रीको पदीय गरिमासित मिल्ने कुराहरू होइनन्। यसको साथै श्री चामलिङले भन्नुभएको छ – यो त प्रजातन्त्रकै मजाक हो। यो बर्बरताको पनि हद हो। म चकित छु कि ढुङ्गे युगका गण-नाइकेहरू पनि शायदै यति निर्दयी र बर्बर हुन्थे होलान्।
यसका साथै उहाँले मुख्यमन्त्रीका रूपमा त उनले आफ्ना कर्मचारीहरूलाई अनुप्रेरित गर्नुपर्ने हो, उत्साहित गर्नुपर्ने हो, अनुप्राणित गर्नुपर्ने हो। त्यो चौकीमा बसेर जनतालाई तर्साउनु, लज्जित तुल्याउनु र डर देखाउनु उनको काम होइन। तर यहाँ अम्बेडकर जयन्तीको गरिमा र खुशीयाली समेतलाई नै तहसनहस हुने भाषण गरियो भनी श्री चामलिङले अर्को सत्यतालाई प्रकाश पार्नुभएको छ।
पूर्व मुख्यमन्त्रीले उत्तरको अन्त्यमा भन्नुभयो – यस्ता अवसरहरूमा मुख्यमन्त्रीका भाषण सुनेर फर्किनेहरू उत्साहित बनेको हुनुपर्छ, न कि लज्जित र आतङ्कित भएको! मुख्यमन्त्रीको यस किसिमको बर्बर भाषा र असंवैधानिक वक्तव्यको म घोर भर्त्सना गर्दछु। थपमा, मुख्यमन्त्रीले कतिपय मानिसहरूलाई स्टिङ अपरेशन गर्ने खुल्ला निर्देश पनि दिए। अनि भोलिपल्टै कतिपय मानिसहरू सरकारी कार्यालयहरूमा क्यामेरासहित निरीक्षण गर्न पनि पुगे। सरकारी अफिसहरूबाट लाइभ भिडियो प्रसारण गरियो। यी घटनाहरू साँच्चै कष्टदायी र विचलित तुल्याउने प्रकृतिका थिए। इमान्दार कर्मचारीहरू क्यामेरामा प्रत्यक्ष कैद भइरहेका दृश्यहरू देख्नु जोसुकैका लागि पनि पीड़ादायी र असहज कुरा हो भन्नुहुँदै श्री चामलिङले विभाग प्रमुखहरू नियुक्त रहेका सरकारी अफिसहरूमा कर्मचारीहरूले आफ्नो उपस्थितिको नियमितता र सुनिश्चितता जनाउन केही निजी क्यामेराहरूमा आफ्नो अनुहार देखाइरहनु किन र कसरी जरूरी हुन्छ भनी अर्को प्रश्न पनि राख्नुभएको छ।
यस सम्बन्धमा सिक्किमका मुख्यमन्त्रीले सबै कर्मचारी र सिक्किमे जनतासमक्ष निःशर्त माफी मागून् भन्ने माग पनि श्री चामलिङले राख्नुभएको छ।