एसकेएम सरकारमा भ्रष्टाचारको पराकाष्ठा

– विष्णु दुलाल

2019 – को चुनाउ सिक्किम बचाउने चुनाउ हो भन्दाभन्दै पनि एउटा अन्धोले अर्को अन्धोलाई अनुगमन गरेर खाल्डोमा झरेजस्तै परिवर्तनको नारालाई अनुगमन गर्ने हुँदा आज सिक्किम खाल्डोमा परेको हो भन्नमा दुइमत नहोला।

सिक्किमलाई भ्रष्टाचारमुक्त राज्य बनाउने वाचा र कसम खाएर सत्ता हत्याउन सफल बनेको एसकेएम पार्टीको सरकारमा ३ वर्षको कार्यकाल पुग्दा नपुग्दै भ्रष्टाचारले पराकाष्ठा नाघिसकेको छ। हाम्रो सरकार आएपछि हामी भ्रष्टाचारलाई मेटाउन राज्यमा सीबीआई भित्र्याउनेछौं भन्ने एसकेएम पार्टीले दिएको परिवर्तनको नारालाई पत्याएर अनुगमन गर्ने हुँदा आज सिक्किम भ्रष्टाचारले ग्रसित भएको हो। हुन त भ्रष्टाचार गरेको आरोपमा १ वर्षको जेलको सजाय काटेर मुख्यमन्त्री बनेका नेताबाट भ्रष्टाचारमुक्त राज्य निर्माण हुन्छ भन्ने अपेक्षा राख्नु हाम्रो मूर्खता पनि हो।

एसकेएमले सरकार गठन  गरेको 3 वर्षमा 35 हजार करोड़ डाइरेक्ट बजट पास गऱ्यो, 10 हजार करोड़ लोन लियो, 3 हजार करोड़ केन्द्र सरकारको सहयोग, जम्मा 48 हजार करोड़ रुपियाँ 25 वर्षको बजटभन्दा बेसी पी.एस. गोलेको नेतृत्वमा एसकेएम सरकारले पाइसक्यो। तर राज्यमा अहिलेसम्म पनि कुनै काम भएका छैनन्। एउटा पनि दीर्घकालीन विकासका घड़ेरी एसकेएम सरकारले खन्नसकेको छैन। एसकेएम सरकारले सिक्किम र सिक्किमेको हक-हित र सुरक्षाका लागि  राज्यमा नयाँ योजना कार्यक्रम नियम कानून लागू गर्छ होला भन्ने जुन विश्वास जनतामा थियो, त्यो सबै निराशामा परिवर्तित भएको छ। नयाँ विकासका काम, नयाँ योजना र कार्यक्रमलाई त परै राखिदिउँ पूर्व सरकारद्वारा निर्मित पुर्वाधारहरूलाई पनि सम्हाल्नसकेको छैन, कुनै पूर्वाधारहरु मरम्मत पनि भएका छैनन्। न त पूर्व सरकारले जगेड़ा गरेर राखेका नियम-कानूनलाई नै एसकेएम सरकारले संरक्षण गर्नसकेको छ। एसडीएफ सरकारको 25 वर्षको कार्यकालमा जति बजट आयो, त्योभन्दा बेसी अहिले एसकेएम सरकार गठन भएको 3 वर्षमा आइसकेको छ। तर त्यत्रो पैसा कहाँ गयो? जनतालाई हिसाब देऊ एसकेएम सरकार!

त्यति मात्र कहाँ हो र अहिले एसकेएम सरकार कालो धन सेतो पार्ने (money laundring) गर्नेहरूको अड्डा भएको छ। हालै फरवरी महीनामा मल्टी कमोडिटी एक्सचेञ्ज  (एमसीएक्स) -मा सिक्किम राज्यको नाममा 6 बिलियन अमेरिकी डलर अर्थात भारु. 45 हजार करोड़भन्दा बेसी पैसाको व्यापार भएको खबरले चारैतिर सनसनी मच्चिएको छ। सिक्किमको नाममा योचाहिँ सरासर कालो धनलाई सेतो बनाउने ठूलो षड्यन्त्र हो भन्ने हामी ठान्दछौं। यत्रो 45 हजार करोड़ रुपियाँको एमसीएक्समा सिक्किमेको नाममा कसरी व्यापार भयो? यसको जवाफदेही एसकेएम सरकार हुनुपर्छ।

हाम्रो सिक्किमजस्तो कम जनसङ्ख्या भएको राज्यमा यसरी एमसीएक्समा सिक्किमेको नाममा यत्रो करोड़ौं रुपियाँको व्यापार हुनु भनेको कालो धनलाई सेतो बनाउने सिक्किमविरोधी तत्त्वहरुको ठूलो षड्यन्त्र हो। सिक्किममा सिक्किमेलाई केन्द्रीय आयकर (इन्कम ट्याक्स) माफी छ भन्ने कुराको बोध भएर नै यसरी कालो धनलाई सेतो बनाउने साथै कर (ट्याक्स) चोरी गर्ने यो सुनियोजित साजिश हो । सिक्किमको नाममा भएको कर चोरी गर्ने साथै कालो धनलाई सेतो बनाउने षड्यन्त्रले गर्दा भोलिको दिनमा सिक्किमेलाई फेरि इन्कम ट्याक्स लाग्ने धेरै आशङ्का देखिन्छ। यदि भविष्यमा सिक्किमेलाई इन्कम ट्याक्स लाग्यो भने यसको सरासर जिम्मेवार एसकेएम सरकार हुनेछ। किनभने एमसीएक्समा सिक्किमको नाममा भएको करोड़ौं रुपियाँको घोटाला हुँदा पनि राज्यका वित्तमन्त्रीको संज्ञानमा नहुनु भनेको एसकेएम सरकार नेतृत्व दिन असफल भएको प्रमाणित भएको छ।

यदि एसकेएम सरकार सिक्किम र सिक्किमेली जनताप्रति इमानदार, वफादार छ भने झट्टभन्दा झट्ट सीबीआई वा ईडीद्वारा एमसीएक्समा सिक्किमेको नाममा भएको करोड़ौं रुपैयाको घोटालाको गहिरो जाँचपड़ताल गरेर सत्यतथ्य जनतामाझ राखियोस्। अनि सिक्किमेको नाममा कर चोरी गर्ने सिक्किमविरोधी तत्त्वहरुलाई कानूनमुताबिक कड़ा सजाय दियाजाओस्। भ्रष्टाचार मेटाउन सत्तामा आएको सरकारमा यस्तो प्रकारको धाँधली, करचोरी भ्रष्टाचार हुनु भनेको एसकेएम पार्टी सरकार सञ्चालन गर्न विफल भएको स्पष्ट हुन्छ।