विष्णु दुलाल
मुख्यमन्त्री पी.एस. गोलेका प्रवक्ता तथा उनका साहित्य प्रभारी सी.पी. शर्माको बेसुरो प्रेस विज्ञप्ति फेरि पढ़्न पाइयो। उनी साहित्यकार पनि भएकाले गोलेले उनलाई साहित्य प्रभारी पनि बनाएका होलान् भन्ने लाग्थ्यो। तर उनको प्रेस विज्ञप्तिको भाषाले सी.पी. शर्मा एक साहित्यकार नभएर आफ्नो आत्मसम्मानलाई एउटा आरोपीको रछ्यान बनाएर अर्को पार्टीको नेतालाई गाली-गलौज गर्ने एक बुख्याँचा मात्र हुन् भन्ने खुलासा गरेको छ। बबुरो सीपीले गाली पनि कनीकुथी बकेका छन्। त्यो प्रेस विज्ञप्ति उनले अति बेचैनी र बढ़ो अशान्त मनोस्थितिमा लेखेका रहेछन्। यसैले त्यो बेसुरो बनेको हो।
सीपी शर्माहरुको डर, बेचैनी, छटपटीको कारण बुझ्नसकिन्छ। अहिले एमसीएक्स प्रकरणले सिक्किममा आगो बालेको छ। त्यो आगो निभ्नेवाला छैन। किनभने एमसीएक्स प्रकरण सिक्किमेली जनताले पाएको हकमाथि उज्याइएको तलवार हो। सीपीहरूका मालिक पीएस गोलेले आयकरमुक्त सिक्किमलाई प्रयोग गरेर बाहिरका व्यापारीहरुले ट्याक्स चोरी गर्दा केन्द्र सरकारले सिक्किममा आयकर लगाउनसक्दैन भनेर आफ्नो भाषणमा भने। उनले सम्पूर्ण प्रकरणलाई ढाकछोप गर्ने कोशिश गरे। यसले सिक्किमेलीको मनमा झन् ठूलो आशङ्का जन्माएको छ अनि यसमा सीपीहरू केही बोल्नसक्दैनन्। उनले यस सम्बन्धमा आफ्नो प्रेस विज्ञप्तिमा एक शब्द होइन, एउटा अक्षर पनि लेखेका छैनन्। एमसीएक्सले कथङ्काल सिक्किममा आयकर निम्त्याएको खण्डमा विपक्षी दलका नेता, कार्यकर्ता र समर्थकहरूलाई मात्र कर लाग्ने अनि गोले र सीपीहरूले पनि कर तिर्नु नपर्नेजस्तो गरेका छन्।
शिक्षाको निम्ति असल भौतिक पूर्वाधारको माग गर्ने विद्यार्थीहरुलाई एसकेएम सरकारले कलेजबाट निकालिदियो, उनीहरूलाई खुल्लम खुल्ला आतङ्कवादी भन्यो। पछिबाट अदालतले ती विद्यार्थीहरूलाई कलेजबाट निकालिनु कानूनविरुद्ध रहेको ठहर गर्दै उनीहरुलाई पुनः कलेज भर्ना दिने आदेश जारी गऱ्यो। तर ती विद्यार्थीहरुले आफ्नो शैक्षिक जीवनको महत्वपूर्ण 1 वर्ष गुमाए। यसको भर्पाई कसले गर्ने? यसबारेमा बोल्ने नैतिक साहस सीपी-ज्याकब-विकासहरूले देखाउनसक्छन्?
भर्खरै पूर्व सिक्किमको रेशीमा अवैध कोइरी चलाइएको कुरा एकजना युवकले पर्दाफास गरेपछि धेरै कुरा बाहिर आयो। पवन चामलिङमाथिको प्राणघातक आक्रमणलाई लिएर एसकेएमले भन्छ नि ‘यो त ट्रेलर मात्र हो’ भनेर। त्यस्तै रेशीको अवैध कोइरी पनि एसकेएम सरकारमा माफियातन्त्रको एउटा सानो झलक मात्र हो। रेशीको अवैध कोइरीको पर्दाफास गर्ने युवकलाई एसकेएम पार्टीका धेरै नेताहरूले फोन गरेर धम्की दिए। रिनाकका विधायक बिष्णु खतिवड़ाले गरेको फोनको रेकर्डको त तिनले सार्वजनिक नै गरे। एसकेएमका कति नेता, विधायक र मन्त्रीहरूले कोइरी माफियाहरूबाट कमिशन खाइरहेका छन् भन्ने कुरा त्यो घटनाले बताउँछ।
अहिले दक्षिण सिक्किम जोरथाङको भाँड़ीखोलामा इप्का फार्मास्युटिकल कम्पनीले वन विभागको अढ़ाई ऐकर जमीन मिचेर आफ्नो गतिविधि सञ्चालन गरिरहेको विषयमा गान्तोकको जिल्ला अदालत परिसरमा केही युवक-युवतीहरू धरनामा बसेका छन्। ज्याक राई भन्ने एकजना जागरूक युवकले यो विषयको उठान गर्दै प्रेस कन्फरेन्स गरेको धेरै दिन भयो। तर वन मन्त्रीले अनुहारमा मुस्कानका साथ यस विषयमा आफूलाई कुनै जानकारी नभएको र आफ्नोमा फाइल नपाएको बताए। सामाजिक सञ्जालमा केही कुरा लेख्दासमेत अनावश्यक तत्परता देखाउँदै सम्बन्धित व्यक्तिलाई गिरफ्तार गरेर जेल हाल्ने एसकेएम सरकारले निजी कम्पनीले सरकारी जमीन मिचेको विषयमा यति धेरै होहल्ला र धरना प्रदर्शनसमेत भएको धेरै दिन बितिसक्दा पनि ‘त्यो मलाई थाहा भएन’ भन्दै प्रेसमा बयान दिन्छ। एसकेएम सरकारलाई सिक्किमेली जनताको लाख-लाख प्रश्न छन् तर त्यसको जवाफ सीपीहरूसित छैन। उनीहरु हर प्रश्नको जवाफमा ‘त्यो मलाई थाहा भएन’ भन्न वा बेसुरो बड़बड़ाउन बाध्य छन्।
पवन चामलिङ दिल्ली जाँदा सरकार ढाल्न दिल्ली गयो भन्ने तथा सिक्किम फर्किँदा पनि सरकार ढाल्न आयो भन्ने एसकेएमले पवन चामलिङ विधानसभामा पनि सरकार ढाल्न नै गएको भनेर ढुङ्गा हान्छ। पवन चामलिङले श्वास लिँदा पनि डराउने, अलिकति खोक्दा पनि डराउने एसकेएम सरकार, एसकेएम पार्टी र सीपीहरूको मनमा पवन चामलिङले जनतासित भेटघाट गर्दा झन् कति ठूलो औड़ाहा चलेको छ, त्यो बुझ्नसकिने कुरा हो। यो एसकेएमको कमजोर आधारको प्रकटीकरण हो। सबैलाई थाहा छ – एसकेएम सरकार सर्कसको डोरीमा हिँड़्दैछ। अलिकति सन्तुलन बिग्रियो कि गयो सरकार। यसैले मुख्यमन्त्री पीएस गोले सन्तुलन बनाउन घरी घरी राज्यबाहिर गएर सिक्किमको निम्ति कुनै महत्व नभएका कार्यक्रमहरूमा भाग लिन्छन्। त्यस्ता कार्यक्रमहरूमा जान उनलाई कुनै निमन्त्रणा चाहिँदैन, जबर्जस्ती ‘म पनि तिमीहरुकै हो’ भन्न उ नबोलाएको पाहुना भएर त्यहाँ पुग्नुपर्छ। रात-बिरात सड़छेऊका होटलहरूमा मीडिया बोलाएर भात खान जान्छ र ‘कति सिम्पल मुख्यमन्त्री रैछ’ भन्ने बनाउनखोज्छ। सत्ता बचाउने चरम छटपटीको मेनिफेस्टेशन हो त्यो। यसैले सीपीहरूको मन अशान्त छ, उनीहरूभित्र बेचैनीको आँधी चलेको छ। अनि बड़बड़ाउँछन् प्रेस विज्ञप्ति जारी गरेर।