किन बस्यो दिलेको दिल एसकेएम-मा ?

‘एक्लै’ दलबलसहित एसकेएममा सामेल हुँदै दिले

एउटा झण्डा र एउटा व्यक्तिको प्रवेशलाई पार्टी विलय भन्नु हो भन्ने दिले नामग्यालको एसकेएम-मा प्रवेश अवश्य पनि पार्टीको विलय भनेर मान्नुपर्छ। सिक्किमको राजनीतिमा कता कता ‘सिक्किम नेशनल पिपल्स पार्टी’ भन्ने नाम तबसम्म थियो, जबसम्म सिक्किमका एक सचेत तथा प्रखर वक्ता विराज अधिकारी त्यस पार्टीमा हुने गर्दथे। हिजो एउटा भव्य समारोहबीच दिले नामग्यालले आफ्नो दलसहित एसकेएममा विलय भएको घोषणा गरे। अस्तित्वहीन पार्टीको विलय हुनु उदेकलाग्दो कुरा हो। स्थानीय समाचार-पत्रहरूले दिले काजी दलबलसहित सत्तारूढ़ एसकेएममा विलय भएको खबरको पुष्टि गरेका छन्। खबरमा 294 जना समर्थक पनि सामेल भएको कुरा जनाइएको छ जबकि काजी साहेबको कुनै पनि सभाले दशको आँकड़ा नाघेको रिकर्ड सिक्किमको इतिहासमा लेखिएको छैन। उनको सामेल हुने कार्यक्रममा अन्य राजनैतिक दलबाट पनि एसकेएम-मा सामेल भएको कुरा जनाइए तापनि कुनै पनि राजनैतिक दलले आफ्नो सदस्यले पार्टी छोड़ेको खबरको पुष्टि गरेका छैनन्।

कथित रूपले सामेली सभामा सिक्किमका विवादास्पद मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि उपस्थित थिए। उनले आफ्नो पार्टीलाई प्राइवेट लिमिटेड नबनाउने भन्ने घोषणा गर्दै दिले काजीको स्वागत गरे। प्राइवेट लिमिटेडको कार्य पद्धतिअनुसार कम्पनीको प्रबन्धन बोर्ड अव् डाइरेक्टर्सले संयुक्त रूपमा गर्दछन्। एसकेएम पार्टीले संयुक्त वा सामुहिक नेतृत्वमा विश्वास राख्दैन भन्ने कुरा उनको यस बयानबाटै स्पष्ट हुन्छ। उनी पार्टीलाई संयुक्त वा सामुहिक विचार र विश्वासको आधारमा होइन तर उनको निजी अड़ानको आधारमा चलाउन चाहन्छन्। यस्तो किन भन्नसकिन्छ भने उनले पार्टीको निर्माण गर्दा प्रजातान्त्रिक समाजवादको वैचारिक धरातलमा गरेका थिए। कुनै पनि दलमा अर्को दलका मानिसहरू सामेल हुनआउँछन् भने तिनीहरूसित आफ्नो दलको वैचारिक अड़ान स्पष्ट हुनुपर्ने हुन्छ। यदि वैचारिक रूपमा नै मिसिन आउने मान्छेहरू अलग सोच राख्दछन् भने उनीहरूको सामेली भनेको नाटक मात्र हुनेछ। दिले नामग्याल काजी न त समाजसेवी हुन् न कुनै वैचारिक पृष्ठभूमिमा उभिएर राजनीति गर्ने नेता हुन् न त उनीमाथि जनताले विश्वास नै गरेका छन्। यस्ता बाँदरका पुच्छरजस्ता मान्छेहरूलाई लिएर मुख्यमन्त्री गोलेले राज्य चलाउने होइन बरु राज्यको हित र भविष्यलाई लुटेर खाने मात्र हुन्।

चाहे जे होस्, दिलेको दिल एसकेएम-मा बस्यो। दिलेको दिल एसकेएम-मा किन बस्यो भन्ने कुरा एसकेएम-का कार्यकर्ताहरूले बुझ्नुपर्ने हुन्छ। गान्तोकमा अपार सम्पत्ति भएका दिले काजी अझ धेरै सम्पत्ति आर्जन गर्नचाहन्छन्। उनी पूर्व मुख्यमन्त्री पवन चामलिङ र उनको दलसित मिल्न नचाहनु भनेको पूर्व मुख्यमन्त्रीले उनलाई गलत तरिकाबाट पैसा कमाउने अवसर नदिनाले हो। यसपल्ट भने त्यस्ता ठूल्ठूला साहुकारहरूलाई सरकारले सहजै ऋण सहायता दिलाइदिने हुनाले दिले काजी त्यो सहज ऋण लिन एसकेएम-मा लागेको भन्ने कुरा गाउँघरमा चर्चामा छ। दिले काजी एसकेएम-मा सामेल हुनु भनेको फट्याइँ मात्र हो।