– सन्दीप छेत्री
सन् 2019 -को नववर्षमा सिक्किमेली जनगणलाई शुभेच्छास्वरूप प्रदान गरिएको एसडीएफ पार्टीको क्यालेण्डरमा अध्यक्ष पवन चामलिङको एउटा उक्ति प्रकाशित भएको थियो। हुन त प्रतिवर्ष एसडीएफ क्यालेण्डरमा अध्यक्ष चामलिङको समय-सान्दर्भिक भनाइ प्रकाशित हुनेगर्छ। तर 2019 चुनावी वर्ष पनि रहेको हुनाले सो वर्षको क्यालेण्डरमा उनको चुनाउसन्दर्भित उक्ति प्रकाशित भएको थियो – “यसपालिको चुनाउ सरकार बनाउने मात्र होइन, सिक्किम बचाउने चुनाउ हो।”
धेरै कम मानिसहरूले मात्र यस भनाइमाथि ध्यान दिए। एक नेता भएको नाताले उनीहरू जनतालाई केही न केही भनिरहेकै हुन्छन् भन्ने सामान्य अर्थमा मानिसहरूले उनको यस भनाइलाई लिए। त्यसपछि सिक्किम चुनाउको रङ्गमा रङ्गियो, विपक्षी पार्टीहरूको चर्को चर्को, आकाशबाट जून-तारै झार्लाजस्तो प्रलोभन र सोरमा पवन चामलिङको एउटा गम्भीर सतर्कवार्ता वा भनौं सङ्केततर्फ मानिसहरूको ध्यानै गएन। चुनाउ भयो, एउटा झीनो अन्तरले एसडीएफ पछि पर्नुपऱ्यो। चुनाउहरू आइरहन्छन्, दलहरू सत्तामा आउँछन्-जान्छन् तर नयाँ वर्ष 2019 -को आफ्नो सन्देशमा पवन चामलिङले गरेका आशङ्का खेर गएन। विगत 3 वर्षदेखि सिक्किम र सिक्किमेली जनताले पवन चामलिङले गरेका आशङ्का दिनदिनै फलीभूत हुँदैगरेको देखिरहेका छन्। विगत 50 वर्षदेखि सार्वजनिक जीवनमा, सामाजिक सम्बन्धहरूमा अनि जनताको आशा र अपेक्षाहरूको बीचमा बसेर काम गरेको अनुभवको निचोड़स्वरूप नयाँ आइरहेको पार्टी एसकेएमको चरित्रलाई बुझेर पवन चामलिङले भनेका थिए – 2019 -को चुनाउ केवल सरकार बनाउने चुनाउ मात्र होइन तर सिक्किम बचाउने चुनाउ पनि हो। आज चामलिङको सतर्कता अक्षरशः सत्य प्रमाणित भएको छ। आज सिक्किमको स्तित्व नै खतरामा पर्नलागेको छ।
चुनाउको समयमा एसकेएम पार्टीले केही पनि नयाँ कुराहरू जनताको अघि राखेन। एसडीएफ सरकारले गरिसकेका अनि गर्दै आइरहेका कामहरूलाई नै अलिकति पैसा बढ़ाएर एसकेएमले जनतासमक्ष पस्कियो। एसडीएफ सरकारले देशमै पहिलोपल्ट जनताको घरै बनाइदिने योजना शुरू गर्दै रु. 12 लाखको घर बनाउँदै आइरहेको थियो, एसकेएमले 16 लाखको घर बनाइदिन्छु भनेर लोभ पस्कियो। एसडीएफ सरकारले टेण्डर गरेका जम्मै कामहरूलाई खारेज गरेर एसकेएमले 16 लाखको नयाँ टेण्डर गऱ्यो तर उक्त योजनामा एउटै पनि नयाँ ईंटा थपिएन। सोफा, टिभी दिन्छु भन्यो, जसको लागत मुश्किलले एक लाख पनि भएन। त्यसो भए रहल 3 लाख कता गयो? जनता 12 लाखकै घरमा 16 लाखको भन्दै बसिरहेका छन्। यसरी नै एसडीएफ सरकारले जनवरी 2019 -मा राज्यका 20 हजार युवाहरूलाई बाकाइदा पद सिर्जना गरेर सरकारी नोकरी दियो `एक परिवार एक रोजगार’ योजनाअन्तर्गत। एसकेएम पार्टीले झुट्टा हल्ला फैलाउँदै यो नियुक्ति केवल चुनाउसम्मलाई हो, चुनाउपछि नोकरी जान्छ, तलब पनि दुइ महीनाको मात्र छुट्याएको छ, नोकरी पनि अस्थायी हो भनेर दुष्प्रचार गऱ्यो। 2019 -मा `एक परिवार एक रोजगार’ योजनाअन्तर्गत नोकरी पाउनेहरू अझै पनि काम गरिरहेका छन्, बरू केहीलाई एसकेएम सरकारले नै निष्कासित गऱ्यो। सर्वोच्च अदालतको आदेशअनुसार कसैलाई पनि बिनाअन्तर्वार्ता रेगुलर नोकरी दिनसकिँदैन। तर एसकेएमले असत्य बोल्यो। एसकेएमले चुनाउमा जनतालाई झूटो वाचा गऱ्यो – एसकेएम सरकार बनिएको 100 दिनभित्र 30 हजार युवाहरूलाई रेगुलर नोकरी दिन्छु भनेर। त्यसपछि पनि नोकरी नपाउने युवाहरूलाई महीनाको रु. 10 हजार गरेर बेरोजगार भत्ता दिन्छु भन्यो, प्राइवेट कम्पनीमा काम गर्ने सिक्किमे युवाहरूलाई न्युनतम वेतन रु. 20 हजार बनाइदिन्छु भन्यो। चुनाउ सकिएको आज 3 वर्ष भयो तर आजसम्म एउटै काम गरेको छैन। यस वर्षको बजटमा त युवाहरूका लागि नोकरी सिर्जना गर्ने एउटै योजना पनि प्रस्तुत गरेको छैन। यसको साटो सिक्किमका युवाहरूलाई विदेशमा काम गर्न पठाउने पो अरे।
माथिका उदाहरणहरू दिनुको एउटा मात्र कारण के भने यसबाट एसकेएम पार्टी र सरकारको नियत र चरित्र एकदैमै छर्लङ्गसँग बुझ्नसकिन्छ। एसकेएम पार्टीले चुनाउअघि सिक्किमेली जनतालाई दिएका एउटै वचनहरू पनि पूरा गरेको छैन। वास्तवमा भन्नु हो भने यसले आफ्नो घोषणाको विपरीत् कामहरू मात्र गरेको छ। `एक परिवार एक रोजगार’ योजनाअन्तर्गत नोकरी पाएका युवाहरूलाई स्थायी गर्नु त टाढ़ाको कुरा धेरैलाई नोकरीबाटै बेदखल गऱ्यो। शिक्षकहरूले स्थायीकरणको माग गरे। उनीहरूबीच नै झगड़ा लगाइदियो, अन्तर्वार्ताको परिणाम नै निकालेन, केहीको परिणाम निकाल्यो तर नियुक्ति अर्डर नै दिएन। आज सिक्किमका स्कूलहरूमा शिक्षकहरूको चरम अभाव भइरहेछ, नानीहरूको पढ़ाई बिथोलिएको छ, हेडमास्टरहरू बाध्य बनेर नन् टिचिङ स्टाफहरू लगाएर पढ़ाउन विवश छन्। विद्यार्थीहरूले कलेज भवनको माग गरे, उनीहरूलाई पार्टी कार्यकर्ता लगेर खेदायो। चारजना विद्यार्थीलाई आतङ्कवादीको बिल्ला भिराएर कलेजबाटै निकाल्यो। जनतालाई दिएको वचनअनुसार काम गर्न नसकेर दिनदिनै अलोकप्रिय हुनथालेपछि सारा दोष कर्मचारीको टाउकोमा खन्याएर कर्मचारी-अधिकारीहरूलाई `कामचोर’, `निकम्मा’ भनेर बदनाम गर्नथालेको छ। कर्मचारी-अधिकारी भनेको जनता र सरकारको सेवक हो। उनीहरूलाई मोटिभेट गर्ने, प्रेरित गर्ने, काम गर्ने वातावरण बनाउने काम सरकारको हो तर `चूज एण्ड पिक्’ गरेर आफ्नो मान्छेलाई राम्रो ठाउँमा लाने, मोलतोलमा पोस्टिङ गर्ने एसकेएम पार्टी र सरकारको नीतिले इमान्दार, मेहनती अफिसर र कर्मचारीहरूलाई हतोत्साहित बनाएको छ, डिमोरलाइज बनाएको छ। ब्युरोक्रेसीसित कामकाजी सम्बन्ध, व्यावसायिक सम्बन्ध कायम गर्न नसकेर, उनीहरूबाट काम निकाल्न नसक्दा एसकेएम सरकार आत्तिएर अब कर्मचारीलाई नै कामचोर साबित गर्न, जनताको अघि उनीहरूलाई लज्जित पार्न लागिपरेको छ। शुरूमा एकथरी कर्मचारीहरूलाई मनपेट दिएर सम्पूर्ण कर्मचारीतन्त्रमा नै नकारात्मक माइण्डसेट तयार गरिसकेको छ। बिनाअन्तर्वार्ता नेता र टप् ब्युरोक्रेट्सका आफन्त, नातागोताहरूलाई नोकरीमा लगाएर एसकेएम सरकारले मेरिट्को घाँटी निमोठेको छ।
एसकेएम पार्टीले जसरी हरेक कुराको अपव्याख्या, दुष्प्रचार गर्नको साथै झूट्टा र नकारात्मक कुराहरू गरेर चुनाउमा जनतालाई दिग्भ्रमित गऱ्यो, त्यो कुरा राजनीतिको सामान्य ज्ञान राख्ने जो कोहीलाई पनि थाहा हुने कुरा हो। तर एसकेएमको चरित्रमा पवन चामलिङले जुन खतरनाक प्रवृत्ति देखे, त्यसबारेमा सम्पूर्ण सिक्किमेली जनता समयमै सचेत अत्यन्त जरूरी थियो, जुन हुनसकेन। के पनि हुनसक्छ भने एसडीएफ पार्टीले आरम्भमै यस खतराबारेमा सिक्किमेली जनतालाई बुझाउनसकेन। धेरैले पवन चामलिङको उक्त होशियारीलाई चुनावी एजेण्डाको रूपमा मात्र लिइदिए।
एसकेएमको सबैभन्दा खतरनाक पदक्षेप थियो – राज्यबाहिरका व्यापारी, उद्यमीहरूसँगको साँठगाँठ। भनिन्छ – सन् 2014 -को चुनाउमै एसकेएमले राज्यबाहिरका व्यापारीहरू, विशेष गरेर सिलगढ़ीका व्यापारीहरूबाट प्रचुर मात्रामा धन सङ्ग्रह गरेको थियो। 2019 -को चुनाउमा पनि एसकेएम पार्टीले बाहिरबाट चन्दा बटुलेको आरोप छ। यस आशङ्कालाई के कुराले पनि पुष्टि गर्दछ भने एसकेएम सरकारमा सिक्किममा सिर्जना हुने सबै काम-धन्धा, व्यापार-बन्दा अनि उद्योगहरूमा बाहिरका मान्छेहरूलाई प्रश्रय दिइएको छ। कर्फेकटारको जमीन, पुरानो वेस्ट पोइण्ट स्कूलको जमीन, पुरानो एसटीएनएम अस्पतालमुनिको जमीन, रीज् पार्क, सिक्किम हाउसहरू आदि सबै सिक्रिमबाहिरका व्यापारी `यार’ -हरूलाई दिइएको छ। बाहिरको मान्छे मालिक भएको पश्चिम सिक्किमको `सेण्टर फर एक्सिलेन्स’ -मा 90 प्रतिशत लगानी राज्यको ढिकुटीबाट लगाइएको छ, जबकि मालिकचाहिँ बाहिरको छ। पुरानो वेस्ट पोइण्ट स्कूलको जमीनमा पाँचतारे होटल, स्पा बनाउने बाहिरको मान्छेलाई मालिक बनाइएको छ तर ठूलो लगानी राज्यकोषबाट दिइएको छ। बाहिरका व्यापारी अनि मालिकहरूलाई सेवा गर्न लम्पसार भएर लागिपरेको यस सरकारको मुटु-कलेजो पवन चामलिङले धेरै पहिले चिनिसकेका थिए। टाढ़ा किन जानु, सिक्किम सरकारको इक्विटी शेयर भएको जलविद्युत परियोजना पनि एसकेएम सरकारले बाहिरकै मान्छेलाई बेचिसकेको छ, जुन विद्युत परियोजनाबाट सिक्किमलेली जनताले 1 लाख करोड़भन्दा धेर रुपियाँ राजस्व कमाइरहने थिए। यो सुनको अण्डा दिने हाँसलाई मारिखाएजस्तै हो।
रूल 4/4 -को मुद्दमा सिक्किम उच्च अदालतमा सिक्किमवासीको पक्ष जानीबुझीकन सही ढङ्गमा नराख्दा आज सिक्किमे जनता हार्नुपरेको छ। आज केन्द्र सरकारसित सिक्किमका राजनैतिक मुद्दाहरूबारे दुइपक्षीय वार्ताको सम्बन्ध विकसित गर्नका लागि होइन, तर बाहिरका दलाल एवं व्यापारीहरूसित साँठगाँठ बढ़ाउन राजनैतिक नियुक्तिहरू गरिँदैछ, जसले गर्दा विगत 3 वर्षमा सिक्किमका लम्बित राजनैतिक मुद्दाहरूमा एक ऐंची काम अघि सरेको छैन। दुइपक्षीय वार्ताहरू भएको छैन, सिक्किममा बसेर जनताको आँखामा धुलो हाल्ने काम हुँदैछ। मुख्यमन्त्रीको दिल्ली भ्रमण राजनैतिक/प्रशासनिक कम गैर राजनैतिक बढ़्ता हुँदैछ।
पवन चामलिङको मूल शङ्का, भय अहिले मल्टी कमोडिटी एक्सचेञ्ज (एमसीएक्स) -को घोटालामा आइपुगेर सत्य प्रमाणित भएको छ। अपराधीहरू चिन्हित भएका छैनन् तर एमसीएक्स प्रकरण एउटा विशुद्ध घोटाला हो, जसले सिक्किमले पाइआएको केन्द्रीय आयकर ऐन, 1961 -अन्तर्गतको कर छूटलाई समाप्त गर्नसक्छ। सिक्किम नागरिक समाजका सदस्य पासाङ शेर्पाले शङ्का व्यक्त गरेझैं नयाँ दिल्लीमा नियुक्त मुख्यमन्त्रीका विशेष कार्य अधिकारी (ओएसडी) -को यसमा भूमिका हुन पनि सक्छ, किनभने उनको अन्य कुनै राजनैतिक योगदान सिक्किमे जनताको पक्षमा अझसम्म देख्नपाइएको छैन। एमसीएक्स घोटाला सतहमा आएपछि मुख्यमन्त्रीले अघि सरेर यस काण्डमा राज्य सरकारको कुनै हात छैन भनेर जुन बयान दिए, त्यो आज आएर झूटो प्रमाणित भएको छ। 7 जुलाई, 2020 -कै दिन उनको मातहतमा रहेको वित्त विभागले एउटा ईमेल `सेबी’ -लाई पठाएर सिक्किमलाई ट्रेड गर्दा स्टाम्प शुल्क तिर्न नलगाइयोस् भनेको कुरा बाहिर आएको छ। यसबाट प्रमाणित हुन्छ – राज्य सरकार र मुख्यमन्त्रीलाई शुरूबाटै थाहा थियो – सिक्किमले पाइआएको केन्द्रीय आयकर छूट अनि `प्यान’ नम्बर राख्न नपर्नेजस्तो हाम्रो राजनैतिक अधिकारको दुरूपयोग हुँदैछ। पहिले पनि केन्द्रीय आबकारी कर र आयकर-उपहार करको ठगी हुँदा सिक्किममा केन्द्रीय आयकर भित्रिएको थियो। पवन चामलिङ सरकारले 14 वर्ष प्रयास गरेपछि सन् 2008 -मा सिक्किमले केन्द्रीय आयकरबाट पुनः छुट पाएको थियो। नैतिक रूपले नै भ्रष्ट यो सरकार आउनासाथ सिक्किमेली जनताले उपभोग गर्दै आएको राजनैतिक अधिकारमाथि खेलवाड़ शुरू भयो। सिक्किमबाहिरका आफ्ना जिग्री`यार’ -हरूसँग मिलेर सिक्किमको अधिकार खाने यो खेल विगत दुइ वर्षदेखि नै चलिरहेको अहिले खुल्दैछ। 2022 -को फरवरी महीनामा मात्रै 46 हजार करोड़ रुपियाँबराबरको ट्रेडिङ हुनुले बताउँछ अरू महीनाहरूमा कति व्यापार भयो होला। भारत सरकारको कति हजार करोड़को ट्याक्सलाई चूना लगाइयो होला। हिजोदेखि प्रवर्त्तन निदेशालय (ईडी) -ले जाँच शुरू गरेको छ। आउँदा दिनहरूमा यस काण्डका पत्रहरू उप्किँदैजानेछन्। विभिन्न सूत्रहरूबाट बाहिर आइरहेका तथ्यहरू हेर्दा सोझा-सरल युवाहरूलाई केही पैसा दिएर उनीहरूको डक्युमेण्ट थुतेर यो कारबार गरिएको हो, जसमा सत्तारूढ़ पार्टीका मान्छेहरूको हात भनिँदैछ। सबै तथ्य त विस्तृत जाँचपछि बाहिर आउने नै छ।
एसकेएम पार्टी अनि पी.एस. गोलेको यस भष्मासुरे प्रवृत्तिलाई पवन चामलिङले धेरै पहिले लक्ष्य गरेका थिए। सिक्किमे जनतालाई यस्ता मान्छेहरू चिन्न समय लाग्यो अवश्यै, तर जनताले पनि आखिरमा यिनीहरूलाई चिनिसकेका छन्। 3 वर्षको अवधिमा यिनीहरूले सिक्किमलाई बर्बाद पारिसकेका छन्। सिक्किमको माटो, सरकारी सम्पत्ति, अधिकार सबै बेचिसकेको छ। यी सबै कुराहरू त बाहिर सतहमा आएका कुराहरू मात्र हुन्, भित्रभित्रै यिनीहरूले कति बिगारिसकेका छन्, त्यो भविष्यमा थाहा लाग्दै जानेछ। इतिहासले भन्छ – यस्ता झुटबाज, भष्मासुरे गुटहरू छोटो समयका लागि सत्तामा आउँछन् तर सैकड़ौं वर्षसम्मका लागि समाज, अर्थव्यवस्था र राजनीतिलाई बर्बाद पारिराखेर जान्छन्। यसैले जनताले पनि कसैलाई सत्ता सुम्पनअघि नेताहरूको भनाइ र गराईको गहिरो परख गर्न जरूरी हुन्छ। सन् 2019 -को चुनाउमा पवन चामलिङले भनेझैं त्यो सिक्किम बचाउने चुनाउ थियो। जनताले यस्ता तत्त्वहरूलाई सत्तामा पुग्नबाट रोक्नसकेनन् तर अब हामी सिक्किम बचाउने समयमा छौं। जम्मै राजनैतिक दलहरू, नागरिक समाजका सदस्यहरू, सिक्किमका होनहार युवापुस्ताहरू एसकेएमले फैलाएको जात, धर्म र सम्प्रदायको विभाजनमा नपरेर एकजुट हुनुपर्नेछ। यो समय दलगत राजनीति गर्ने समय होइन, यो सिक्किम बचाउने समय हो।