सिक्किमेली जनताको जनादेशअनुरूप विपक्षमा रहेर सिक्किमेली जनताको पक्षमा सदनबाट होस् वा सामाजिक सञ्जालमार्फत् आवाज उठाउने क्रममा नाम्ची-सिङ्गीथाङ समष्टिका विधायक तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले 17 अप्रेल, 2022 -को आफ्नो प्रश्नोत्तर-मालामा सिक्किम सरकारले सिक्किमेली विद्यार्थीहरूलाई 50 वटा मेडिकल सीट उपलब्ध गराएको दावी गरिरहेको सम्बन्धमा त्यसको सत्यताबारेमा जनस्तरबाट उठेको प्रश्नको जवाफ दिनुभएको छ। प्रस्तुत छ एसडीएफ अध्यक्ष पवन चामलिङले दिनुभएको जवाफः
प्रश्न – एसकेएम-ले आफ्नो सरकारले गरेको परिवर्त्तनको उदाहरणको रूपमा सिक्किमे विद्यार्थीहरूलाई 50 वटा निःशुल्क (फ्री) मेडिकल सीट दिलाएको कुरा गर्वसाथ प्रस्तुत गरिरहेको छ। मुख्यमन्त्री पी.एस. गोलेले त एसकेएम सरकारमा परिवर्त्तन भएको नदेख्नेहरूलाई सरकारले दिएको 50 वटा फ्री मेडिकल सीट देख्ने चुनौती नै दिए। के यो साँच्चै परिवर्त्तनको सङ्केत हो भन्ने तपाईंलाई लाग्छ?
उत्तर – नाङ्गिसकेको एसकेएम सरकारले अर्काको कपड़ा खोसेर आफ्नो लाज ढाक्ने काम गरिरहेको छ, र त्यो खोसेको कपड़ालाई समेत उसको आफ्नै हो भन्ने दावी गरिरहेको छ। जनतालाई स्वर्गको सपना देखाएर नर्कमा पुऱ्याउने एसकेएम-को सत्यता यही हो। उनीहरू बेशरम छन्। तर जनताले उनीहरूको खोक्रो वाचाको सत्यतालाई बुझ्न थालिसकेका छन्। उनीहरूको ढँटाइ, छलाइ, गराइ जनताले देखिसकेका छन्। आफ्नो नाङ्गोपनलाई छोप्न र ढाक्न उनीहरू यति आतुरिएका छन् कि एउटा झूटमाथि अर्को झूट, अनि त्योमाथि पनि महाझूट बोलिरहेका छन्।
सर्वप्रथम आफ्नो योग्यताको बलमा 50 वटा निःशुल्क (फ्री) मेडिकल सीटमा चयनित भएका सिक्किमेली विद्यार्थीहरूलाई म हार्दिक बधाई दिनचाहन्छु। यी 50 वटा सीटहरू कसैले फोकटमा दिएको उपहार होइन। जब पनि सिक्किमे नागरिकहरूले सफलता पाउँछन्, म सधैं हर्षित भएको छु। तर यो उपलब्धिलाई एसकेएम-ले आफ्नो परिवर्त्तनको रूपमा बिक्री गरिरहेको कुरालाई म घोर आपत्ति जनाउँदछु। मेरो यो आपत्ति त्यसै जनाइरहेको छुइनँ। यसका कारणहरू छन् –
सिक्किमे विद्यार्थीहरूलाई वार्षिक 50 वटा मेडिकल सीट निःशुल्क दिलाउने कुरो एसकेएम-ले सपनामा पनि चिताएको कुरा होइन। यो कुरा उनीहरूको सपना, जपना, योजना र क्षमताभन्दा धेरै टाढ़ाको कुरा हो। तर अर्काले पकाएको व्यञ्जनको थाली उनीहरूको हातमा पऱ्यो। यसको पछाड़िको रामकहानी अर्कै छ। एउटा मेडिकल कलेज बनाउने कुरो लामो, चुनौतीपूर्ण र जटिल प्रक्रियापछि मात्र पूरा हुने कुरा हो। भारत सरकारलाई मनाउनु र मेडिकल काउन्सिल अफ् इण्डियाका शर्तहरू पूरा गर्नु सहज कुराहरू छैनन्। मणिपाल मेडिकल कलेज अनुमोदनको समय मुख्यमन्त्रीको रूपमा मेडिकल काउन्सिल अफ् इण्डियासित काम गरेको अघिल्लो अनुभव मसँग छ। त्यो एउटा प्राइभेट कलेज अनुमोदनको अनुभव थियो। मेरो सपना थियो, त्यसभन्दा पनि माथि हाम्रो राज्यको आफ्नै मेडिकल कलेज होस्। र, यसको निम्ति हामीले केन्द्र सरकारसमक्ष प्रस्ताव राख्यौं, आफ्नो पक्ष राख्यौं, बोल-विन्ती गऱ्यौं, छलफल गरी सबै विस्तृति दियौं। सिक्किममा आफ्नै मेडिकल कलेज स्थापना गराउन हामीले केन्द्र सरकारसँग धेरै लामो समयसम्म कामहरू गऱ्यौं। यी सम्पूर्ण प्रयासहरूपछि अन्ततः 2017-18 -मा केन्द्र सरकारले सिक्किमलाई 50 मेडिकल सीटको स्वीकृति दियो। केन्द्र सरकारबाट यो स्वीकृति पाएपछि हामीले मन्त्रीमण्डलको बैठक गरेर 2019-20 -देखि सिक्किममा आफ्नै सरकारी मेडिकल कलेज खोल्ने निर्णय गऱ्यौं। यसको निम्ति हामीले एसटीएनएम अस्पतालमुनि विधानसभा अध्यक्षको आवास खाली गराएर जमीन अधिग्रहण गऱ्यौं, कलेजको डीपीआर तयार पाऱ्यौं, क्याम्पस निर्माणको काम युद्धस्तरमा शुरू गऱ्यौं। क्याम्पस निर्माणको कार्य पूरा नभइञ्जेल पुरानो एसटीएनएम अस्पताल भवनमा क्लास शुरू गर्ने निर्णय गऱ्यौं। यी सबै कुराहरूको सरकारी रेकर्ड आज पनि छ। तर हामी चुनाउमा पराजित भयौं, र हामी आफैले यो योजना पूरा गर्न पाएनौं।
जब एसकेएम सरकार बनियो, हाम्रो योजनालाई नै बदलेर सरकारले राज्यको 50 वटा मेडिकल सीटलाई मणिपाल मेडिकल कलेजमा मिलायो। यसरी भन्नु हो भने अहिले मणिपाल अस्पतालले दुइवटा मेडिकल कलेज चलाइरहेको छ। अचम्भको कुरो चैं यो छ कि मुख्यमन्त्री पी. एस. गोलेको राजनीतिक सचिवले नै ‘मणिपालले आफ्नो कलेज वा अस्पताल चलाउनसक्दैन भने त्यो राज्य सरकारलाई जिम्मा लगाऊ’ भनेर भनेका थिए, तर आज राज्य सरकारले नै आफ्नो मेडिकल कलेज मणिपाल अस्पताललाई जिम्मा लगायो!
यसले सिक्किमलाई के फाइदा भयो?
1. एसडीएफ सरकार-ले सिक्किमे विद्यार्थीहरूलाई निःशुल्क 50 वटा मेडिकल सीट दिएको थियो, त्यसको निम्ति आफ्नै मेडिकल कलेज खोल्ने निर्णय गरी काम गरिरहेको थियो, तर अहिले सरकारले आफ्नै 50 सीट मणिपाललाई दिएको छ, र त्यसको लागि धेरै पैसा पनि मणिपाललाई नै दिनेभएको छ। मलाई थाहा छैन, यसको निम्ति सिक्किम सरकार र मणिपालबीच के सम्झौता भएको छ!
2. हामीले आफ्नै कलेज शुरू गरेका थियौं भने हाम्रो आफ्नो कलेज त हुने नै थियो, साथमा हाम्रा पूर्वाधारहरू पनि हुने थिए, आफ्नै जनशक्ति र रोजगारका अवसरहरू पनि हुनेथिए।
3. सिक्किमको आफ्नै मेडिकल कलेज स्थापना गरेर आगामी दिनहरूमा हामी क्रमैसँग आफ्नो राज्यका सीटहरू पनि बढ़ाउँदै लान सक्नेथियौं।
4. सिक्किम मेडिकल कलेजमा अन्य विद्यार्थीहरूलाई शिक्षा दिनुसँगै त्यसबाट राज्यको निम्ति राजस्व पनि कमाउन सक्नेथियौं।
तर एसकेएम नेत्तृत्वको छोटो सोचले सस्तो राजनीतिबाहेक केही सोच्नैसक्दैन, र जनतालाई उल्लु बनाउने कामबाहेक केही गर्नैसक्दैन। सिक्किमका सर्वसाधारण जनताले बुझून् कि सिक्किम सरकारलाई बर्सेनि कुल 85 वटा मेडिकल सीट (50 सीट राज्यभित्र र 35 सीट राज्यबाहिर) दिइएको छ। सिक्किम उत्तर-पूर्वी परिषद्को सदस्य भएकोले स्नातकोत्तर मेडिकल सीट पनि सिक्किमलाई उपलब्ध छ।
एसकेएम सरकारले ठूलो सोच लिनुपर्छ। ठूलो सोच्न सक्नुपर्छ। राज्यका श्री-सम्पत्तिहरू बेच्न बन्द गर्नुपर्छ, कलेजहरू बेच्न बन्द गर्नुपर्छ, सिक्किमका अपार सम्भावनाहरूलाई बेच्न बन्द गर्नुपर्छ। अरूका सपनालाई आफ्नो सपना भन्दै बेच्न बन्द गर्नुपर्छ। सिक्किमे जनताको भविष्यसित खेलबाड़ गर्न बन्द गर्नुपर्छ। सरकारले राज्यको आफ्नै मेडिकल कलेज तुरन्तै स्थापना गर्नुपर्छ, र सिक्किमेहरूको भाग खोस्न बन्द गर्नुपर्छ। सिक्किमलाई अपमान र बेइज्जति गर्न बन्द गर्नुपर्छ।
अन्त्यमा, पूर्व एसडीएफ सरकारमाथि दोषारोपण गर्न सधैं अति तत्पर देखिने पी.एस. गोले र उनको टीमले कैलेकाहीं राम्रो कामको सराहना गर्नु पनि सिक्नुपर्छ। स्टेट मेडिकल कलेज, 50 वटा फ्री मेडिकल सीट, कलेज तहसम्म मुफ्त शिक्षा, सीसीसीटी चिसोपानी, एटीटीसी बरदाङ र सबै सरकारी संस्थानहरूमा निःशुल्क शिक्षा, सी.एम.एम.एस.एस., सी.एम. फ्री स्कलरशीपलगायतका अनेकौं शैक्षिक नीति र पहलहरू एसडीएफ सरकारले शुरू गरेको र लागू गरेको हो भन्ने कुरा बताउने साहस एसकेएम सरकारसँग किन छैन?