दुइ वर्षको कार्यकालमा एसकेएम पार्टी महाझुटको खेती गर्ने पार्टी मात्र साबित भएको श्रीमती गुरूङको बयान

गान्तोक। एसकेएम सरकारले दुइ वर्षको कार्यकाल पूर्ण गरेकोमा एसडीएफ पार्टीकी चेली मोर्चा महासचिव श्रीमती सकुन गुरूङले बधाई टक्र्याउँदै एसकेएम पार्टीले सरकारमा आउनभन्दा अघि गरेका वाचाहरूको पनि स्मरण गराउनु भएको छ। आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा प्रकाश गर्नुभएका विचारहरूमा श्रीमती गुरूङले भन्नुभएको छ -एसकेएम सरकारले व्यवस्था परिवर्तनको नाम लिएर चुनावी मैदानमा ठुलठूला वाचा र घोषणाहरू गरेर सिक्किमे जनताको मत बटुले पनि आज ती वाचाहरू कुनै पूरा हुनसकेको छैन।

यसै सन्दर्भमा महासचिव श्रीमती गुरूङले मिन्तोगाङलाई क्यान्सर अस्पताल बनाउने सरकारको वचन दुइ वर्षसम्म पनि पूरा नभएकोमा एसकेएम पार्टी महाझुटको खेती गरेर सिक्किमे जनतालाई दिग्भ्रमित पार्ने पार्टी हो भन्नुभयो। यसरी नै, उहाँले एसकेएम सरकारमा आएको खण्डमा दश दिनभित्रमा लिम्बू-तामाङको विधानसभामा सीट आरक्षण गरिने, फर्चुनर गाड़ीलाई एम्बुलेन्स बनाइने, तीस हजार युवाहरूलाई रेगुलर नोकरी दिने, एडहक टिचरहरूको नोकरी स्थायी गरिने, ग्याल्वा कर्मापालाई सिक्किमा ल्याइने, सिक्किममा सीबीआई ल्याइने, अदुवाको प्रतिमन ५ हजार र अलैंचीको प्रतिमन ५० हजार रुपियाँ दाम दिइने, मजदुरहरूको मासिक वेतन 20 हजार दिइने, सिक्किम विधानसभामा नेपालीको सीट पुनर्बहाली गरिने आदिजस्ता वाचाहरू आज कता गए भनी प्रश्न गर्नुभएको छ।

दुइ वर्षको एसकेएम सरकारको कार्यकालमा सिक्किमे जनताले खुशी र सुखपूर्ण जीवन धान्न पाएकै छैनन् भनी ठोकुवा गर्नुहुँदै श्रीमती गुरूङले सिक्किमका अघिल्ला सरकारहरूबाट कमाएको ख्याति, समृद्धि र प्रतिष्ठामा आँच आएको छ, कोरोना सङ्‌क्रमणमा सिक्किमको नाम देशमा अग्रणी स्थानमा पुगेको छ, यति मात्र नभएर दूरदर्शी नेतृत्वको कमीको कारणले सिक्किमको आर्थिक अवस्था सोचनीय छ भने युवावर्गको वर्तमान स्थिति अन्धकारपूर्ण बनेको छ, ड्रग्स माफियाहरूको सङख्या राज्यमा दिनहुँ बढिरहेको खबरले नेतृत्व पङ्‌क्तिको विफललाई दर्शाउँछ भनी श्रीमती गुरूङले बताउनुभयो।

यसरी नै, एसकेएम सरकारको दुइ वर्षको कार्यकालमा राजधानी गान्तोक वरिपरिका रूखहरूदेखि लिएर राज्यका धेरै स्थानको रूख, बनजङ्‌गल फाँडेर प्रकृतिमाथि अतिक्रमण गर्ने काम भएको भनी उहाँले वास्तविकतालाई प्रकाश पार्नुभयो। त्यति मात्र नभएर नैसर्गिक अधिकारका निम्ति सङ्‌घर्षरत विद्यार्थीहरूलाई कलेजबाट निष्कासन गरी एसकेएम सरकारले सामन्ती चरित्रको हद पार गरेको जगजाहेर कुरा हो भनी श्रीमती गुरूङले भन्नुभयो। राज्यको सबै क्षेत्र नै वर्तमान समयमा चिन्तनीय बनेको तथा सिक्किमे जनताको जीवनमा आइपरेको सङ्‌कटकाललाई साक्षी राखेर हेर्दा श्री गोलेको नेतृत्वधीन एसकेएम सरकार जनाधारलाई सम्मान दिन पूर्ण विफल बनेको श्रीमती सकुन गुरूङले मन्तव्य प्रकट गर्नुभयो। यसका साथै यस सरकारको काम गर्ने परिपाटी जनमुखी र समयसापेक्ष नभएको कारण एसकेएम सरकारको मियाद कम रहेको पनि श्रीमती गुरूङले ठहर गर्नुभयो।