गान्तोक। 27 अगस्तको दिन गान्तोकको इन्दिरा बाइपास स्थित एसडीएफ पार्टीको मुख्यालयमा एसडीएफ अध्यक्ष श्री पवन चामलिङको उपस्थितिमा जुम-सालघारी निर्वाचन क्षेत्रअन्तर्गत जोरथाङ बजारका धेरै सत्तारूढ एसकेएम पार्टीका युवा कार्यकर्ता औपचारिक रूपमा एसडीएफ पार्टीमा सामेल भएका छन्।
एसडीएफ पार्टीका अध्यक्ष श्री पवन चामलिङले एसकेएम पार्टीका कार्यकर्ताहरूलाई स्वागत जनाउनु भयो। उहाँले जात-जाति र धर्म जस्ता संकीर्ण विचारबाट माथि उठेर सिक्किम र सिक्किमेली जनताको हित र हकका निम्ति काम गर्न आग्रह गर्नुभयो। उहाँले एसडीएफ पार्टीको नीति र सिद्धान्तलाई सिरोपर राखेर काम गर्ने आह्वान गर्दै वर्तमान अवस्थामा सिक्किम दिन प्रतिदिन खराब र असुरक्षित बन्दै गएको सत्य प्रकाशमा पार्नुभयो।
सत्तारूढ एसकेएम पार्टीलाई त्याग गरी एसडीएफ पार्टीमा सामेल हुने युवाहरूले एसकेएम पार्टीले चुनाव अगाडि गरेका बाचा कुनै पनि पूरा नगरेर जनतालाई धोका दिएको स्पष्ट पार्नुभयो। एसकेएम पार्टीमा भविष्य सुरक्षीत छैन, युवा कार्यकर्ताहरुलाई झुठो आश्वासन र भाषण मात्र दिएर दिग्भ्रमित पारेको कुरा बताउनु भयो। अब हामी एसडीएफ पार्टीको सिद्धान्तलाई शिरोपर राखेर अनुशासनमा बसेर 2024-मा एसडीएफ पार्टीको सरकार बनाउन कटिबद्ध भएर काम गर्नेछौं भनी उहाँहरूले वचन दिएको जानकारी एसडीएफ प्रचार सचिव श्री विष्णु दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।