गान्तोक। एसकेएम सरकारले प्रजातन्त्रको मर्म र उद्देश्यलाई नै मारेर तानाशाही प्रणालीलाई स्थापित गरेको आरोप एसडीएफ पार्टीका अध्यक्ष एवम् पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले लगाउनु भएको छ। उहाँले भन्नुभएको छ, एसडीएफ पार्टी सामूहिक नेतृत्व र जिम्मेवारीलाई सिद्धान्त मान्ने पार्टी हो। पार्टीमा रहेर कुनै पनि जिम्मेवारी निर्वाह गर्नु भनेको व्यक्तिगत नाफा-नोक्सानका लागि होइन सामूहिक हित र कल्याणका लागि आफूलाई समर्पित गर्नु हो। उहाँले व्यक्तिगत नाफा-नोक्सानीले सामूहिक इन्ट्रेस्ट मार्ने बताउँदै जसका कारण जनसाधारणलाई अन्याय हुनजान्छ भन्नुभयो।
एसडीएफ अध्यक्ष श्री चामलिङ छुजाचेन निर्वाचन क्षेत्रका नवनियुक्त पार्टी पदाधिकारी तथा वरिष्ठ नेतृत्वगणसित पार्टी मुख्यालयमा कुराकानी गर्दै हुनुहुन्थ्यो ।
28 अगस्तको दिन छुजाचेन क्षेत्रका नवनियुक्त पार्टी पदाधिकारी तथा नेतृत्वले पार्टी अध्यक्षसित भेट गरेको जानकारी प्रचार सचिव श्री विष्णु दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
आफ्नो सम्बोधनमा श्री चामलिङले विगतको हाम्रो कार्यशैलीलाई समीक्षा, आत्मालोचना र चिन्तन गरेर पार्टीको सिद्धान्तसँग जोडिनुनै एसडीएफ पार्टीको साँचो कार्यकर्त्ता हुनु हो भन्नुहुँदै पार्टी अध्यक्षले म एसडीएफ पार्टीको पहिलो कार्यकर्ता हुँ, भन्नुभयो ।
सम्बोधनको क्रममा उहाँले स्पष्टसँग भन्नुभयो, सैद्धान्तिक रूपमा मेरो जति जिम्मेवारी छ त्यत्तिकै जिम्मेवारी वार्ड स्तरीय कार्यकर्त्ताको पनि हुने गर्दछ। त्यसैले हाम्रो उद्देश्य भनेको प्रत्येक आम जनगणलाई सुख, शान्ति र खुसी दिनु हो। सिक्किम र सिक्किमेली जनताको हक अधिकार र सुरक्षाको ग्यारेन्टी गर्नु हो। त्यसैले हामी आम जनगणप्रति जवाफदेयी र उत्तरदायी बन्नुपर्छ, भन्नुभयो।
यसैक्रममा वर्तमान समयमा सिक्किम र सिक्किमेली जनता असुरक्षित बनेको, राज्यमा नियम-कानुनको उलङ्घन भइरहेको, ठिकाबिगाका कामहरू टेन्डरबिना वितरण भइरहेको, पार्टी हेरेर सरकारी सहुलियत वितरण गरिने जस्ता खेदजनक कार्यशैलीलाई पार्टी अध्यक्ष चामलिङले सम्बोधनको क्रममा पार्टी पदाधीकारीहरूलाई बताउनु भयो। यसका साथै यस्ता कार्यशैलीले एसकेएम सरकारले प्रजातान्त्रको मर्म र उद्देश्यलाई नै मारेर तानाशाही प्रणालीलाई स्थापित गरेको छ भन्नु भयो। उहाँले एसकेएम पार्टीलाई सरकारबाट नहटाएसम्म सिक्किमेली जनताले यस्ता समस्याबाट मुक्ति नपाउने बताउँदै अहिले सिक्किम र सिक्किमे जनताको मुख्य समस्या भनेको नै एसकेएम पार्टी र एसकेएम सरकार हो, भन्नुभयो।
राजनीतिको महत्त्वलाई गम्भीरतापूर्वक प्रकाश पार्नु हुँदै पार्टी अध्यक्षले भन्नुभयो, “राजनीतिमा सकारात्मक र निर्माणात्मक प्रतिस्पर्धा हुनुपर्छ। झुठो बोल्नु, षड्यन्त्र गर्नु र जनतालाई गुमराह गर्नु राजनीति होइन। हामीले सरकार चलाउँदा असल व्यवस्था सिर्जना गरेका थियौँ। आज त्यही व्यवस्थाबाट एसकेएम सरकारले काम गरिरहेको छ। एसकेएम पार्टीमा नीति, सिद्धान्त र कार्यक्रम नभएकोले गर्दा अहिलेसम्म यस सरकारले कुनै नयाँ कार्यक्रम तथा योजना दिन सकेको छैन।”
भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष श्री चामलिङले नवनियुक्त पार्टी पदाधीकारीहरूलाई बधाईसहित शुभकामना व्यक्त गर्नुभयो।
कोभिड प्रोटोकललाई पालन गर्दै पार्टी अध्यक्षसँग सम्पन्न भएको भेटघाट कार्यक्रममा छुजाचेन निर्वाचनका पदाधिकारीहरूले सभा आयोजन गरेर पार्टीलाई दह्रिलो बनाउने पक्षमा विभिन्न प्रस्ताव ग्रहण गरेको विषय पार्टी अध्यक्षलाई अवगत गराएका थिए ।
पार्टी अध्यक्षलाई छुजाचेन क्षेत्रका एसडीएफ पदाधीकारीहरूले एसकेएम पार्टीले ग्रामीण स्तरका जनतालाई डर, त्रास र पक्षपाती व्यवहारद्वारा आतङ्कित तुल्याइरहेको जानकारी दिँदै हिजोको सद्भावना अनि शान्तिपूर्ण सिक्किमेली समाजलाई आज सत्ताको दुरुपयोग गर्नेहरूले अराजकता र अभावग्रस्त अवस्थामा धकेलिरहेको अर्को दुःखद परिस्थिति पनि अवगत गराए। यसका साथै पार्टी अध्यक्षसँग सम्पन्न भएको भेटघाट कार्यक्रमको अवसरमा छुजाचेन निर्वाचन क्षेत्रका एसडीएफ पार्टी पदाधीकारी तथा नेतृत्वगणले सिक्किम र सिक्किमेली जनतालाई सुरक्षित राख्न २०२४-मा एसडीएफ पार्टीलाई सरकारमा फर्काइ ल्याउने प्रण पनि गरे।